कब्जियत भएको छ ? अब घरमै गर्नुहोस् यसको उपचार

७ कार्तिक २०७४, मंगलवार १३:३२

कात्तिक ७, काठमाडौँ । डाक्टरहरूका अनुसार दिसा निष्कासनको स्वभाविक आवृतिमा विलम्ब हुनु, नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ । कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण देखा पर्ने एक लक्षण हो । यो कुनै विशेष रोग नभई रोगको लक्षणको रुपमा धेरै रोग यसैबाट जन्मन्छन् ।

यसको उपचार हाम्रै घर र वरिपरि सजिलै पाइने केही चिजबाट गर्न सकिन्छ । त्यस्ता केही सजिलै पाइने चिजहरू र प्रयोग गर्ने विधि तल दिइएको छ । तपाईँलाई पनि कब्जियत भएको छ भने यस्ता विधिहरू अपनाउन सक्नुहुनेछ ।

– किसमिसमा प्रशस्त फाइबर (रेशा) पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाँदा कब्जियत ठीक हुन्छ ।

– आलस पनि ग्याँस तथा कब्जियतमा उपयोगी सावित हुन्छ । आलस त्यसै चपाएर खान सकिन्छ । यसको चूर्ण बनाएर तातो पानीसँग खान सकिन्छ । आलसमा फाइबरका साथै ओमेगा थ्री आदि पाइन्छ ।

– नियमित सुन्तला खाँदा पनि कब्जियतबाट छुट्कारा पाइन्छ । सुन्तला खाँदा त्यसको केस्राको सेतो रेशा पनि खानुपर्छ । सुन्तलामा भिटामिन सी, फाइबर आदि तत्व पाइन्छ ।

– मेथीको चूर्ण (पाउडर) मा कालो नुन मिसाएर खाँदा कब्जियत हट्छ ।

– पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेट हल्का बनाउँछ ।

– कब्जियत हटाउन पालकको रसमा पानी मिसाएर खाँदा लाभ मिल्छ ।

– त्रिफला चूर्णको प्रयोग कब्जियतका लागि लाभदायक छ ।