कञ्चनपुरको वागफाँटमा छाडा पशु चौपाया व्यवस्थापन शुरु

१५ मंसिर २०७४, शुक्रबार ११:४५

पुष्कर भट्ट
मंसिर १५, कञ्चनपुर । भीमदत्त नगरपालिका–१९ बागफाँटामा छाडा पशु चौपाया व्यवस्थापन कार्य अघि बढेको छ ।

वागफाँटामा जमिन भाडामा लिएर चौपाया व्यवस्थापन कार्य सुरु गरिएको हो । भीमदत्तले चालु आर्थिक वर्षमा छाडा पशु चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले व्यवसायीकरण गर्ने लक्ष्य राखेर बागफाँटामा व्यवस्थापन कार्य थालिएको बताए । ‘जमिन भाडामा लिएर व्यवस्थापनका लागि संरचना निर्माण सुरु गरिएको छ’ मेयर विष्टले भने, ‘अब संरचना बनेपछि चौपाया यहाँ लिएर राख्छौ ।’ उनले यसलाई व्यवसायीकरण र अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताए ।भीनपा–१९ ले छाडा चौपाया व्यवस्थापन समिति गठन गरी कार्य अघि बढाएको हो ।

समितिले गौशाला निर्माण र घाँस उत्पादनका लागि जमिनमा तारजाली लगाउन सुुरु गरेको छ । समितिले स्थानीयबाट वार्षिक २० हजार रुपैँया तिर्ने गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको छ । भीनपा–१९ का अध्यक्ष दामोदर महराले जग्गा सम्झौता गरी निर्माण कार्य अघि बढाएको बताए । ‘जग्गा सम्झौता गरी तारबार र ट्रस्ट निर्माण सुरु गरेका छौ’ उनले भने, ‘अब तुरुन्त नै चौपाया लिएर राख्छौ ।’ अहिले ९ भाडामा लिएको ९ बिगाहा र सरकारी जमिन गरी १७ बिगाहामा चौपाया व्यवस्थापन गर्न लागिएको हो । गौशालामा ५ सयसम्म छाडा पशु चौपाया व्यवस्थापन गर्न सकिने अध्यक्ष महराले बताए ।