ओली नेतृत्वमा पुस भित्रै नयाँ सरकार–ज्ञवाली

४ पुष २०७४, मंगलवार ०८:२४

पुस ४,  बुटवल।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा पुस भित्रै नयाँ सरकार गठन हुने बताएका छन । जनताले बामगठबन्धनलाई स्पष्ट बहुमत दिएको भन्दै पुस मसान्त भित्रै नयाँ सरकार गठन हुने उनको भनाई छ ।

नेकपा एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्च क्षेत्र नं. १ ले बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नयाँ सरकार गठन सँगै पार्टी एकता पनि हुने बताए । गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका ज्ञवालीले केन्द्रीय पुस महिना भित्र ७ वटा प्रदेश मध्ये ६ वटा मा बाम गठबन्धनको बहुमत सरकार गठन हुने बताएका छन् । उनले नेपाली काँग्रेस अझै पनि सत्तामोहमा भएको भन्दै जसरी पनि पुसमा बामगठबन्धनको सरकार बनेरै छाड्ने बताए ।

“राप्रपाको पुच्छर छोपेर काँग्रेस सत्ता लम्बाउने प्रयासमा लागेको छ, जनताले स्पष्ट रुपमा काँग्रेसलाई पाँच बर्ष सम्म प्रतिपक्ष बस्ने गरी मत दिएका छन ।” उनले भने–“केही काँग्रेसहरुले राष्ट्रिय सभा गठनको नचाहिदो कुरा मात्र गरिरहेका छन ।” नयाँ सरकार गठन भएसंगै माओवादी केन्द्र संग पार्टी एकिकरण हुने कुरामा कुनै शंका आग्रह गर्दै ज्ञवालीले अब देशमा बामगठबन्धनको सरकार बन्ने र उक्त सरकारले अव आर्थिक समृद्धिका योजनाहरु बनाउने बताए । बामगठबन्धनको जनादेश स्पष्ट भएको भन्दै काँग्रेसलाई प्रतिपक्ष दलको रुपमा जनताले बनाइदिदा समेत काँग्रेसले राष्ट्रिय सभा गठनको विषयमा अनावश्यक किचलो झिकेको उनको भनाई । उनले संविधानमा कहि पनि राष्ट्रिय सभा गठन र प्रधानमन्त्रीको चयनमा कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारे ।

ज्ञवालीले एमाले र माओवादी केन्द्रको विचमा पार्टी एकताको एजेन्डा जनताको एजेन्डा भएको भन्दै उनले जनताको माग अनुसार नै पार्टी एकता हुने जानकारी दिए । पछिल्लो समयमा नेपाली काग्रेसले सत्ता लम्बाउने खेल रचेको भन्दै नेता ज्ञवालीले संविधानमा नै परिकल्पना नभएको कुरालाई बखडाको रुपमा लिएर सत्ता लम्बाउने खेल भएको भन्दै उक्त खेलले काग्रेसकै लागि घातक भएको धारणा राखे । गुल्मी जिल्ला कृषिको आधुनीकरण र पर्यटनको प्रसार प्रसारबाट विकास संभव भएको भन्दै उनले कफि खेती अनुसन्धान केन्द्र स्थापनाबाट कृषिमा आधुनीकरणको सुरुवात भएको बताए । गुल्मी जिल्लाको रुरुधाम, रेसुङ्गा क्षेत्र लगायतको प्राप्त मात्रामा विकास गर्न सकेमा गुल्मी समृद्ध हुने उनको भनाई थियो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर २ प्रदेश सभा २ का प्रतिनिधि सभा सदस्य लिला गिरी, गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रतिनिधीसभा सदस्य कमलराज श्रेष्ठ, नेकपा एमाले रुपन्देही गुल्मी मञ्चका अध्यक्ष हिराध्वज शाह, गुल्मी रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष देवराज खनाल लगायतले बोलेका थिए ।