एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश

१३ पुष २०७४, बिहीबार ०६:५३

पुस १३, काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा डर्बी क्लब इन्टर मिलानलाई १–० ले पराजित एसी मिलानले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

एसी मिलानको घरेलु मैदानमा भएको रोमान्चक भिडन्तमा घरेलु टोलीलाई जित दिलाउन सबसिच्युड खेलाडी प्याट्रिक कुट्रोनले गरेका थिए । तर, छिमेकी प्रतिद्वन्दी इन्टर मिलानलाई पाखा लगाउन एसी मिलनले अतिरिक्त समयसम्म कुर्नु परेको थियो ।

खेलको निर्धा्रित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा ७६ औं मिनेटमा मैदान पसेका कुट्रोनले गोल गर्दै एसी मिलानलाई अन्तिम चारमा पुराएका थिए । एसी मिलानले सेमिफाइनलमा लाजिओसँग खेल्ने छ ।

यता, इन्टर मिलानले पाएको मौका सदुपयोग गर्न नसक्दा पराजित हुनु पर्यो । यस्तै पहिलो हाफमा इभान पेरिसिकको गोलले मान्यता नपाउदा इन्टर मिलान चुकचुकाउन पुग्यो । इभान पेरिसिकको प्रहार एसी मिलान गोलरक्षक एन्टोनिओ डोनारम्माले रोक्न खोज्दा गोल भएको थियो । तर, भिडियो एसिस्टेन्ट रेफ्रीले त्यो गोल अफसाइड देखाएको थियो ।