एसीसी यू-१९ क्रिकेटका सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदै

३० कार्तिक २०७४, बिहीबार ०२:५५

कात्तिक ३०, काठमाडौं । एसीसी अण्डर नाईन्टिन एसिया कप क्रिकेटका सेमिफाइनल खेल आजबाट हुँदैछन् ।

मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो । यो समूहको उपविजेता नेपालले शुक्रबार हुने दोस्रो सेमिफाइनलमा अफ्गानिस्तानको सामना गर्नेछ । समूह चरणमा बंगलादेशसँग हारेको नेपालले भारत र मलेसियालाई हराउँदै पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको हो ।

 

उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो । पाकिस्तान, श्रीलंका र युएई सम्मिलित उक्त समूहबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको थियो ।  उमेर समूहका हरेक प्रतियोगिताका उपाधि दावेदारहरु नेपाल र अफ्गानिस्तानबीचको शुक्रबार हुने खेललाई निकै चासोका साथ हेरिएको छ ।