एमाले स्थायी कमिटी बैठक आज बस्दै

७ पुष २०७४, शुक्रबार ०३:५३

पुस ७, काठमाडौं । प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा पहिलो शक्ति बनेको नेकपा (एमाले) को स्थायी कमिटी बैठक चुनावपछि पहिलोपटक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बैठक आह्वान गरिएको छ । आफू पराजित हुनुमा पार्टीको आन्तरिक घात भएको नेता गौतमले गुनासो गरिरहेका बेला स्थायी कमिटीको बैठक उनकै निवासमा बोलाइएको हो ।

बैठकको कार्यसूची सार्वजनिक नगरिएको भए पनि नेकपा एमाले– नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकीकरण, निर्वाचन परिणामबारेको समीक्षा, सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको राष्ट्रियसभा गठन अध्यादेश लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले समसामयिक राजनीतिक विषय र अहिले देखिएका समस्याका बारेमा बैठकमा छलफल हुनेछ । माओवादी केन्द्रसँग पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बस्न लागेको एमाले स्थायी कमिटी बैठकबाट ठोस निर्णय आउने विश्वास एमाले नेताको छ । एमालेले प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १६८ गरी कुल २४८ सिट जितेको छ । समानुपातिक निर्वाचनको आधिकारिक परिणाम भने आउन बाँकी छ ।