एमाले स्थायी कमिटीको बैठक जारी, माओवादीसंग सिट संख्याको बाँडफाँड बारे छलफल

१ कार्तिक २०७४, बुधबार ०६:२२

असोज १, काठमाडौं । एमालेले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको छ । उम्मेदवार छनोट, घोषणापत्र निर्माणसँगै पार्टीभित्रको आन्तरिक असन्तुष्टि सम्बोधन गर्न पार्टीको स्थायी कमिटी जारी रहेको छ । मंगलबारदेखि सुरु भएको बैठक आज पनि बस्दैछ ।

एमाले सचिव प्रदीप ज्ञवालीले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीतर्फका उम्मेदवार, घोषणापत्र निर्माण लगायत विषयमा पार्टीको स्थायी कमिटीमा छलफल सुरु भएको बताए । माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै पार्टी एकीकरण गर्ने सहमति गरेको एमालेले समानुपातिक उम्मेदवार एवं प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो बैठकबाट लगाउने भएको छ ।

निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेको एमालेले त्यसमा नाम सच्याउनुपर्ने अवस्थामा कसरी अगाडि बढ्ने, प्रत्यक्षतर्फको उम्मेदवार एवं घोषणापत्रको तयारीका विषयमा बैठकमा छलफल भइरहेको नेताहरूले बताए । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा त्यसमा देखिएको असन्तुष्टिलाई बैठकले छलफलको माध्यमबाट समाधान गर्दै सहमतिकै आधारमा नाम सच्याइनेछ ।

एमाले र माओवादीले चुनावी तालमेल गरी निर्वाचनमा सहभागी हुने सहमतिअनुसार सिट संख्याको बाँडफाँडको विषयमा छलफल जारी रहेको छ । एमाले नेता ज्ञवालीले धेरै ठाउँमा कुरा मिलिसकेको बताउँदै केही ठाउँमा मिल्न बाँकी रहेकाले त्यसको विषयमा छलफल भइरहेको बताए । केही दिनमै क्षेत्र बाँडफाँड सकिने उनले बताए । एमाले र माओवादीले संयुक्त कार्यदल गठन गरेर क्षेत्र निर्धारणमा जुटेको छ ।