एमालेको गठबन्धन निर्माणपछि पहिलोपटक स्थायी कमिटि बैठक बस्दै

२१ आश्विन २०७४, शनिबार ०५:२४

असोज २१, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक शनिबार (आज) बस्ने भएको छ ।

आफ्नो नेतृत्वमा वाम गठबन्धन निर्माण गरेको एमालेले गठबन्धन निर्माणपछि पहिलोपटक स्थायी कमिटि बैठक बोलाएको हो ।
बैठकमा वाम गठबन्धन, घोषणापत्र निर्माण र भावी रणनीति लगायत विषयमा छलफल हुने बताइएको छ ।

 

एमाले सचिव योगेश भट्टराईले चुनावी तालमेल, घोषणापत्र निर्माण र भावी रणनीति बैठकको मुख्य एजेन्डा भएको जानकारी दिए । उनका अनुसार बैठकले यसबारे ठोस निर्णय गर्नेछ । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेल गरेर चुनाव लड्ने र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति बने पनि विभिन्न अस्पष्टताहरु कायमै छन् ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी कमिटीले गरेका सिफारिसहरुबारे समेत छलफल हुने बताइएको छ । बैठक धुम्वाराहीस्थित पार्टी कार्यलयमा बिहान ११ बजेबाट सुरु भएको छ ।