एमालेसँग तालमेल भए पनि सरकार परिवर्तन हुँदैन: यही सरकारले चुनाव गराउँछ – अध्यक्ष दाहाल

१८ आश्विन २०७४, बुधबार ०९:०५

काठमाडौं । ‘एमालेसँग तालमेल भए पनि सरकार परिवर्तन हुँदैन । यही सरकारले चुनाव गराउँछ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आश्वस्त पार्दै भने ।

त्यतिमात्रै होइन, मंगलबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा पनि उनले कांग्रेसका विरुद्ध गठबन्धन नभएको बताए पनि सरकारका बारेमा भने केही बताएनन् । उनले वर्तमान सरकारले नै चुनाव गराउने कि नयाँ बनाउने भन्नेबारेमा सभामा केही बताएनन् ।

दाहालले सार्वजनिक रुपमा वर्तमान सरकार नै चुनाव गराउने नभनेपछि यो सरकारको आयुका बारेमा धेरैले अड्कल काटिसकेका छन् । कांग्रेस नेताहरु अब के गर्ने भन्ने विषयमा परामर्शमा व्यस्त छन् । ओली र दाहालको सम्बोधनका क्रममा कांग्रेसप्रति गरेको कटाक्ष, चुनावको मुखमा एकाएक गरिएको सहमतिले सरकारको आयुका बारेमा धेरैले अड्कल काटेका हुन् ।

“हुन त प्रचण्डले पनि यही सरकारले चुनाव गराउँछ भनेर भन्नुभएको छ,” कांग्रेस केन्द्रिय सदस्य डा। प्रकाशशरण महतले भने, “तर अहिले उहाँहरुसँग बहुमत नपुग्ने भएकाले यसो भनिएको हुन सक्छ ।”

कटाक्षले बढी आशंका

मंगलबार भएको एकता प्रक्रियासभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरुबीचको चुनावी तालमेल र पार्टी एकीकरणको प्रयास कसैका विरुद्ध नभएको स्पष्ट पारेका थिए ।

ओलीले मुलुकको आवश्यकताअनुसार नेपाल र नेपाली जनताको पक्षमा वामपन्थी दलहरुबीचको चुनावी तालमेल र पार्टी एकीकरणको प्रयास भइरहेको स्पष्ट पारे । ‘‘हाम्रो तालमेल कसैका विरुद्ध हैन, यो तालमेल नेपालको पक्षमा छ, नेपालको आवश्यकता हो,’’ उनले भने ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकीकरणको प्रयास गरेर नेपालका बामपन्थी दलहरुले इतिहास रचनाको नयाँ अध्याय सुरु गरेको अध्यक्ष ओलीको भनाई थियो । उनले देश र जनताप्रति समर्पित एक मात्रै बामपन्थी पार्टी बनोस् भन्ने जनचाहना अनुरुप पार्टी एकीकरण गर्न तीन दल सहमत भएको पनि बताए ।

‘‘चुनावी तालमेल भनेको एउटै पार्टी निर्माणको दिशामा अघि बढेको उद्घोष हो,’’ एमाले अध्यक्ष ओलीले भने, ‘‘नेपालको आवश्यकता र जनताको आकांक्षा अनुरुप बामपन्थी दलहरुबीच चुनावी तालमेल भएको हो ।’’

जनताको आकांक्षाअनुसार चुनावी तालमेल गरिएकाले जनताको चाहना अनुरुप चुनावी परिणाम आउने भन्दै ओलीले पार्टी एकीकरणको प्रयासमा केही ढिलाई भएको स्वीकार गरे । चुनावी तालमेल र पार्टी एकीकरणलाई लिएर तीनै दलका कार्यकर्ताहरुले कुनै भ्रम पाल्न जरुरी नभएको जिकिर गर्दै ओलीले भने, ‘‘कार्यकर्ताहरुमा आ–आफ्नो पार्टीले क्रान्तिकारिता, जझारुपन र जिम्मेवारी छाडेको भ्रम हुनसक्छ । तर ढुक्क हुनुस् हामीहरुमा पूरानै क्रान्तिकारिता, जझारुपन र जिम्मेवारी छ ।’’ राष्ट्रलाई एकजुट गरेर एकतावद्ध ढंगले सम्बृद्धितर्फ अघि बढाउन अवको आवश्यकता भएकाले आफुहरुले सत्ताको पक्षमा केही नबोलेको उनको भनाई थियो ।

‘‘बामपन्थीको जन्मकुण्डलीमा देशभक्त बामपन्थी सरकार बन्छ भनेर देखिएकैछ, कसैले यसलाई मेट्न सक्दैन’’ ओलीले भने, ‘‘हाम्रो ध्यान दुई तिहाईतर्फ केन्द्रित छ ।’’   कांग्रेसप्रति कटाक्ष गर्दै ओलीले चुनावका बेला निद्रा लाग्ने औषधी बढी बिक्री हुने समेत बताए ।  “अब हामीलाई साधारण बहुमत होइन, दुई तिहाइ आउँछ । मलाई डर छ । निद्राको ट्याबलेट अब बढी बिक्ला कि रु,” ओलीको भनाई थियो ।  उनले घुमाउरो पारामा तत्कालै सरकार नबने पनि मंसिरपछि कसैले रोक्न नसक्ने जिकीर गरे ।

 

एमालेका अर्का एक नेताकाअनुसार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई एकताका लागि आग्रह गर्दा वर्तमान सरकारको भविष्यका बारेमा जिज्ञासा राखेका थिए ।  त्यसैले पनि कांग्रेस नेताहरु तथा प्रधानमन्त्री सरकार टिकाउने दाउमा व्यस्त छन् । उनले यसअघि नै कमल थापा, उपेन्द्र यादव, विजय कुमार गच्छदार लगायतसँग छलफल गरिसकेका छन् ।
एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीच तालमेलका लागि सहमति भए पनि सरकार बनाउन त्यो संख्याले पुग्दैन ।

यस्तो छ संसदको हिसाब

व्यवस्थापिका–संसद्मा हाल ५९१ जना सांसद छन् । एमाले १८०, माओवादी केन्द्रका ८१ र नयाँ शक्तिका १ सांसद छन् । तीन दलका गरी जम्मा २६२ जना सांसद रहेका छन् । सरकार बनाउनका लागि ५९१ को बहुमत सांसद आवश्यक पर्छ ।  सरकार बनाउनका लागि गठबन्धनलाई कम्तिमा पनि २९६ सांसदको आवश्यकता पर्छ । जसका लागि अझै ३४ जना सांसद अपुग हुन्छन् ।

एमाले नेतृत्वको गठबन्धनलाई नेकपा मालेका ४, राष्ट्रिय जनमोर्चाका ३ र नेमकिपाका ४ सांसद्ले साथ दिएमा अझै २३ सांसद अपुग हुने देखिन्छ । त्यसका लागि विजय गच्छदार, कमल थापा र पशुपतिशमशेर राणामध्ये कसैले साथ दिनुपर्ने हुन्छ । तिमध्ये दुई दल अहिले नै सरकारमा छन् कमल थापाले साथ दिए साना दलका बाँकी ४ सांसद अझै आवश्यक पर्ने देखिन्छ । त्यसैले पनि अहिलेको अवस्थामा सरकार बनाउन त्यति सहज भने देखिँदैन ।  राप्रपासहित अहिलेको सरकारमा सहभागीमध्ये गच्छदार र राणाले वाम गठबन्धनलाई सहयोग गरे भने नयाँ सरकार बन्न सक्छ ।

संसद्मा हाल कायम रहेका राजनीतिक दल र संख्या

कांग्रेस २०७
एमाले १८०
माओवादी ८१
राजपा २५
राप्रपा १९
नेपाल लोकतान्त्रिक फोरम १८
राप्रपा प्रजातान्त्रिक १८
संघीय समाजवादी फोरम १५
माले ५
नेमकिपा ४
राजमो ३
नेकपा संयुक्त ३
परिवार दल २
बहुजन शक्ति पार्टी १
संघीय लोकतान्त्रिक थरुहट १
समाजवादी जनता पार्टी १
नेपाली जनता दल १
वौद्धिक जनतान्त्रिक परिषद नेपाल १
खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल १
अखण्ड नेपाल पार्टी १
जनजागरण पार्टी १
मधेस समता पार्टी नेपाल १
नयाँ शक्ति पार्टी नेपाल १
स्वतन्त्र १