एमालेको सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको पुरानो संरचना भंग गरे

२६ भाद्र २०७४, सोमबार १३:२९

भदौ २६, काठमाडौं । नेकपा एमालेले निर्वाचन क्षेत्र पुनर्निर्धारण भइसकेको अवस्थामा यसअघि कायम २४० निर्वाचन क्षेत्रीय कमिटीहरु भंग गरेको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा अब १६५ सदस्यीय भएकाले पुरानो संरचना भंग गरेको हो ।

अब प्रतिनिधिसभाका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेका ३५ ओटा हिमाली र पहाडी जिल्लामा क्षेत्रीय कमिटी नरहने संगठन बिभाग प्रमुख समेत रहेका एमाले सचिव पृथ्वीसुब्बा गुरुङले बताए । तर ती जिल्लामा प्रादेशिक क्षेत्रीय कमिटी भने गठन हुनेछन् ।

 

निर्वाचन क्षेत्रीय कमिटीका संयोजक सम्बन्धित जिल्ला कमिटीले जिल्ला कमिटी सदस्यमध्येबाट चयन गर्ने गुरुङले बताए । क्षेत्रीय कमिटीमा यसअघि साबिकका निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्यहरु स्वतः सदस्य बन्नेछन् ।

प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटीको सचिव जिल्ला कमिटी सदस्यबाट चयन हुने र सो क्षेत्र अन्तर्गतका गाउँपालिका तथा नगरपालिका कमिटीका पदाधिकारीहरु पदेन सदस्य रहने सचिव गुरुङले जानकारी दिए ।

क्षेत्रीय कमिटीहरु कार्यकारी नहुने र समन्वयकारी भूमिकामा रहने भएकाले ती कमिटीको निर्वाचन हुने छैन । एमालेले वडा कमिटी, गाउँ तथा नगर कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई कार्यकारी कमिटी मानेको छ ।

ती कमिटीहरुको भने नियमित अधिवेशन र निर्वाचन हुनेछ । दशौं महाधिवेशनसम्म जिल्ला कमिटीहरु कार्यकारी हैसियतमै रहने संगठन बिभाग प्रमुख गुरुङले बताए ।