एन्फाद्धारा सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

१० आश्विन २०७४, मंगलवार १६:२१

काठमाडौँ, १० असोज । गतवर्ष कात्तिकमा मलेसियाको कुचिङमा भएको एएफसी सोलिडारिटी कप विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नगद पुरस्कार प्रदान गरेको छ । सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेपछि एन्फाले पुरस्कारको घोषणा गरेको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले २३ खेलाडीसहित प्रशिक्षण टोली र व्यवस्थापकलाई जनही रु तीन लाख प्रदान गर्नुभयो । सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउलाई १–० गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेपछि एन्फाले पुरस्कारको घोषणा गरेको थियो ।

सहभागी टोलीको गोल रक्षकमा किरण लिम्बू, विकेश कुथु र विशाल श्रेष्ठ छन् भने रक्षकमा आदित्य चौधरी, विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, कमल श्रेष्ठ, रञ्जित धिमाल र देवेन्द्र तामाङ छन् ।

यसैगरी, मिडफिल्डमा हेमन गुरुङ, विक्रम लामा, विशाल राई, अन्जन विष्ट, राजेन्द्र रावल र सुजल श्रेष्ठ छन् भने फरवार्डमा विमल घर्तीमगर, अनिल गुरुङ, सुमन लामा, रञ्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवास रहेका थिए ।

यस्तै, टोलीको प्रमुख प्रशिक्षक ग्योटुकु कोजी, प्रशिक्षक राजु शाक्य, गोलरक्षक प्रशिक्षक उज्वल मानन्धर र व्यवस्थापक विराटजंग शाही छन् ।