एएफसी यू–१९ छनोट च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

१२ कार्तिक २०७४, आईतवार ११:१४

कात्तिक १२, काठमाडौं । एएफसी यू–१९ छनोट च्याम्पियनसिपका लागि शनिबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । मंगलबारदेखि किर्गिस्तानमा आयोजना हुने छनोट खेलका लागि प्रशिक्षक छिरिङ लोप्साङ सहितको टोलीले अन्तिम खेलाडीको नाम सार्वजनिक गरेको हो ।

टोलीका अनुभवी र निखारिएका खेलाडी भएकाले नेपालको लक्ष्य छनोट रहेको प्रशिक्षक लोप्साङल बताए । ‘हामीले भर्खरै भुटानमा सम्पन्न यू–१८ साफ च्याम्पियनसिपको उपाधि जितेर फर्किएका छौं । अहिले खेलाडीको मनोबल उच्च छ । उमेर समूहका नेपालको प्रदर्शन धेरै राम्रो छ । साफ च्याम्पियनसिपमा हरेक खेलाडीले आफूलाई प्रुफ गरेर देखाएका छन् । टोलीमा त्यही खेलाडीको वर्चस्व रहेकोले छनोटको सम्भावना बलियो देखेको छु’, लोप्साङले भने ।

अपर्ण कार्कीको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानमा प्रजन तामाङ रहेका छन् । अन्य खेलाडीमा अभिषेक बराल, विश्वास उदास, असीम भुसाल, राजन गुरुङ, सुमन अर्याल, निरञ्जन महर्जन, रोमन लिम्बू, अशोक थापा, दिने हेन्जन, अभिषेक रिजाल, अनिल महर्जन, सेसेहाङ आङदम्बे, आकाश श्रेष्ठ, एरिक विष्ट, रेजिन सुब्बा, धीरज श्रेष्ठ, सुरजजंग ठकुरी, राजेश परिवार, मनीष थापा र सोजित गुरुङ रहेका छन् ।

आयोजक किर्गिस्तान, बहराइन, यूएई र ओमनसहित समूह ‘ए’ मा नेपालको नेपालले पहिलो खेल मंगलबार आयोजक किर्गिस्तानसँग खेल्नेछ । दोस्रो खेल नोभेम्बर २ मा बहराइन, नोभेम्बर ४ मा यूएई र अन्तिम खेल नोभेम्बर ८ मा ओमनसँग खेल्नेछ ।

छनोट च्याम्पियनसिपमा सहभागी एसियाली राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उत्कृष्ट उपविजेताले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपको ढोका खोल्नेछन् ।