एएफसी यू–१९ च्याम्पियनसीममा किर्गिस्तानसँग नेपालको हार

१४ कार्तिक २०७४, मंगलवार ०८:५४

कात्तिक १४, काठमाडौँ । एएफसी यू–१९ च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको पहिलो खेलमा नेपाल आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको छ ।

मंगलबार भएको खेलमा किर्गिस्तानले २१ औँ मिनेटमा अग्रताको सुरुवात गरेको थियो । किर्गिस्तानका लागि शुकुरोभ अलिमर्दोनको पासलाई सदुपयोग गर्दै बोरुबाएभ गुल्झीगितले जाली चुमाएका थिए । खेलको अन्तिम मिनेटमा नेपालका डिफेन्स र गोलरक्षकको गल्तीको फाइदा उठाउँदै अलीमर्दोनले अग्रतालाई दोब्बर बनाए ।

नेपालले अर्को खेलमा बिहीबार बहराइनको सामना गर्नेछ । नेपालसँगै समूह ’ए’ मा किर्गिस्तान, ओमान, बहराइन र संयुक्त अरब इमिरेट्स रहेका छन् । शीर्ष स्थान र उत्कृष्ट पाँच उपविजेता टोली अन्तिम चरणमा छनौट हुनेछन् ।