उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर २०७४, मंगलवार ०२:३४

मंसिर ५, काठमाडौं। अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका हुन् ।   यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई सोही सूचीमा राखेकोमा ९ वर्षअघि यो सूचीबाट हटाएको थियो ।   इरान, सुडान र सिरिया पनि यो सूचीमा सामेल छन् । सन् २००८ मा जर्ज डब्ल्यु बुस प्रशासनले उत्तर कोरियालाई भने यो सूचीबाट हटाएका थियो ।    मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति ट्रम्पले यो सूचीबाट उत्तर कोरियालाई हटाउनु गलत भएको भन्दै आज बस्ने बैठकले यसको निर्णय गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

चरमपन्थीहरुलाई समर्थन गरेको सूचीमा राखेपछि उत्तर कोरियामाथि थप दबाब पर्ने बताइएको छ ।  राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई यो सूचीमा सामेल गराएपछि उसको परमाणु कार्यक्रम र अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थी कारबाहीको समर्थनको जिम्मेवार हुने बताएका छन् ।उनले उत्तर कोरियाली सरकारको विधिसम्मत तरीकाले काम गर्नुपर्ने र परमाणु कार्यक्रमलाई रोक लगाउनुपर्ने बताए ।   उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले लगाएको प्रतिबन्धका बाबजुद परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।(एजेन्सी)