इरानमाथि लडाकूलाई क्षेप्यास्त्र दिएको आरोप

१ पुष २०७४, शनिबार ०५:४३

(एजेन्सी)
संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की ह्यालीले इरानले यमनका लडाकू समूह हौथी मुभमेन्टलाई साउदी अरेबियाविरुद्ध आक्रमण गर्न क्षेप्यास्त्रहरु उपलब्ध गराउँदै आएको आरोप शुक्रबार लगाएकी छिन्।

उनले गत महिना साउदी अरेबियाको राजधानी रियादनजिक प्रहार गरिएको क्षेप्यास्त्रको भग्नावशेषहरु पत्रकारहरुलाई देखाएकी छन्। उनले उक्त अवशेषमा ‘इरानमा निर्मित’ स्टिकरसमेत भएको र इरानले संयुक्त राष्ट्र संघको प्रस्तावनाको उल्लंघन गरेको बताएकी छिन्।

तर इरानले भने सन् २०१५ देखि नै साउदी नेतृत्वमा रहेको गठबन्धन फौज समर्थित यमनको सरकारविरुद्ध युद्ध गर्दै आएको हौथी मुभमेन्टलाई कुनै हतियार नदिएको बताएको छ। बरु इरानले अमेरिकाको यो दाबी विनाशकारी, गैरजिम्मेवारी र निहुँ खोज्ने खालको भएको बताएको छ।

ह्यालीले ती क्षेप्यास्त्र सयौं व्यक्तिको ज्यान लिनसक्ने निकै शक्तिशाली भएको दाबी गरेकी छिन्। उनले इरानी सरकाको व्यवहार झनझनै खराब हुँदै गइरहेको पनि बताएकी छिन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेजले रियादमा प्रहार गरिएको र गत जुलाईमा मक्कानजिक खसेको क्षेप्यास्त्रको भगनावशेष एउटै भएको दाबी गरेका छन्।