इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर संक्रमणकालको अधिकतम फाइदा उठाए – अध्यक्ष दाहाल

२७ भाद्र २०७४, मंगलवार १४:४१

भदौ २७, काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल  प्रचण्डले प्रधानमन्त्री देउवाले इतिहासकै जम्बो मन्त्रिमण्डल बनाएर संक्रमणकालको अधिकतम फाइदा उठाएको बताएका छन् ।

 

बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार संविधान अनुसार सानो आकारको हुने भएकाले सबैको चित्त बुझाउन प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल जम्बो बनाएको बताए । आफूले प्रधानमन्त्रीसँग दुई दिनदेखि कुराकानी नगरेको बताउँदै प्रचण्डले सरकार विस्तार निर्वाचन आयोगकै स्वीकृतिमा भएको हुनसक्ने अनुमान गरे ।

 

पूर्व प्रधानमन्त्री प्रचण्डले प्रदेश नम्बर दुईको निर्बाचनमा उम्मेदवारहरुले अधिकतम मात्रमा खर्च गरिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ‘चुनावमा यति धेरै खर्च भइरहेको छ, तर उनीहरुसँग खर्चको श्रोत छैन, यसले भविश्यमा हुने सबै निर्बाचन महंगो पर्न जान्छ र सामान्य मान्छेले चुनाव लड्न सक्ने अवस्था रहँदैन, जुन चिन्ताजनक भएको बताए । उम्मेदवारहरुले निर्वाचनमा अत्याधिक खर्च गरेको बारे आफूले अन्य पार्टीका नेताहरुसँग पनि छलफल गरेको प्रचण्डले बताए ।