आर्थिक समृद्धिका लागि सबैलाई करको दायरामा ल्याउने तयारी

२० भाद्र २०७४, मंगलवार १४:३१
Gyanendra karki, news from kathmandu nepal, breaking news from kathmandu nepal

काठमाडौं। सरकारले सबैलाई करको दायरामा ल्याउने तयारी गरेको छ।  अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पनि सबैलाई करको दायरामा ल्याउने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन  दिएका छन्। उनले सबैलाई करको दायरमा ल्याई सुशासनको माध्यामबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे।

आन्तरिक राजस्व विभागद्वारा काठमाडांैमा आयोजित २ दिने व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सन् २०३० सम्म दीगो आर्थिक विकास हासिल गर्ने लक्ष्य प्राप्ति गर्न राजस्व परिचालनको कामलाई अझै प्रभावकारी बनाउन पनि मातहतका सबै निकायलाई सचेत गराए।

उनले संघीय ढाँचा अनुसारको संरचना निर्माण गरी राजस्व परिचालनको कामलाई अघि बढाउन ढिलाई नगर्न पनि निर्देशन दिए। अर्थमन्त्री कार्कीले सरकारले दीगो, उच्च र फराकिलो आर्थिक विकास गर्ने लक्ष्य लिएको पनि स्पष्ट पारे।

मन्त्री कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन निजी क्षेत्र, विकास साझेदार संस्थाहरु, उद्योगी÷व्यवसायी र राजस्व प्रशासनबीच सदृढ सहकार्य र समन्वय हुनुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले आन्तरिक राजस्व परिचालन गर्दा स्वच्छ, तटस्थ, मितव्ययी र पारदर्शी आर्थिक क्रियाकलापलाई आधार बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने विभागलाई कडा कार्वाही गर्ने चेतावनी दिए। उनले लक्ष्य अनुसार राजस्व उठाउन नसके मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य हासिल हुन नसक्ने भएकाले पनि राजस्व संकलनमा वृद्धि गर्नुको विकल्प नरहेको उल्लेख गरे।

राजस्व संकलनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आन्तरिक राजस्व विभागद्धारा व्यवस्थापन गोष्ठी आयोजना गरिएको हो। गोष्ठीमा देशभरका राजस्व कार्यालयका प्रमुखहरुको सहभागिता रहेको छ।