आयोगबाट स्वीकृत उमेदवारले निर्वाचन चिन्ह पाए

१९ कार्तिक २०७४, आईतवार १३:४१

कात्तिक १९, काठमाडौं । दोस्रो चरणमा २०७४ मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उमेदवारले निर्वाचन चिन्ह पाएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार आइतबार उमेदावरको अन्तिम सूची प्रकाशन भएपछि ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको हो ।  प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उमेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उमेदवारहरुलाई आज निर्वाचन प्रदान गरिएको हो ।

 

आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसार, कायम रहेका ४ हजार ७४७ जना उमेदवार मध्ये साँझ साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार दुई जनाको उमेदवारी रद्द, ४ जनाको दाबी बिरोधबाट खारेज र २५८ को उमेदवारी फिर्ता गरी जम्मा २६४ जना व्यक्तिको नाम उमेदवारहरुको सूचीबाट हटेको छ ।  निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवाहरुको अन्तिम विवरण आउन बाँकी रहेको छ ।