आज यमपञ्चकको दास्रो दिन कुकुर तिहार

१ कार्तिक २०७४, बुधबार ००:३०

१ कार्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तर्गत आज यमपञ्चकको दोस्रो दिन कुकुर तिहार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास समेत रहीआएको छ ।