आज यमपञ्चकको अन्तिम दिन भाइटीका, भाइटीकाको उत्तम साइत ११:५१ बजे

४ कार्तिक २०७४, शनिबार ००:१८

४ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

गौतमले भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम रहेको बताए ।

लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ । थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिनुका साथै ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई सम्मान प्रकट गरिने धार्मिक एवम् सामाजिक परम्परा छ ।

यस वर्ष टीका लगाउने दाजुभाइ पश्चिम फर्कनु पर्ने र लगाइदिने दिदीबहिनी पूर्व फर्कनुपर्ने गैंतमले बताएका छन् । आज शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका नलगाउन अध्यक्ष गौतमले आह्वान गरेको छ । शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन सकिने उनको भनाइ छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्वीर राखेर पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गरेका छन् । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा आई टीका लगाउने गर्दछन् ।

यसैगरी दिदीबहिनी नहुनेहरुका लागि अञ्जलि दिदीले पनि टीका लगाइदिने गर्दै आएकी छिन् ।