आचारसंहिता उल्लङ्घनको जवाफ आगामी निर्वाचनमा जनताले दिनेछन् : पूर्व सांसद् तामाङ

६ कार्तिक २०७४, सोमबार ०६:१६

पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङ युगसँगै बदलिनुपर्ने धारणा भएका र परिवर्तनशील छन् । सिन्धुपाल्चोकको २ नं. क्षेत्रबाट दुई पटक चुनाव लड्दा एक पटक बाजी मारेका तामाङले लामो समयसम्म सालिन र इमन्दारीतापूर्वक आफ्नो जिम्मेवारी बहन गर्दै राजनीतिक जीवनलाई व्यवहारिक र शैद्धान्तिक रुपमा अंगल्दै आएका छन् । वर्तमान समसामायिक राजनीतिक विषयवस्तुबारे आयोखबरले गरेका कुराकानी ।

वर्तमान राष्ट्रिय राजनीति कता मोडिदै छ ?
निर्वाचनतिर । अहिले संघ र प्रदेश सभाको निर्वाचनकै लागि सबै दलहरु आ–आफ्ना क्षेत्रबाट लागेका छन् । नेकपा (एमाले) पनि निर्वाचनकै दौरानमा छ ।

वाम गठबन्धन पश्चात राष्ट्रिय राजनीतिमा तरङ्ग पैदा भयो । यसै कारण सरकारको नेतृत्व गरिरहेको काङ्ग्रेसले निर्वाचन सार्ने सङ्केत गरेको भन्ने हल्ला छ । यसले निर्वाचनलाई असर त गर्दैन ?
हामीले वाम लोकतान्त्रिक गठबन्धन गरेका हौँ । हामी निर्वाचन तोकिएकै मितिमा हुनुपर्छ भनेर सधैँ भनिरहेकै छौँ र निर्वाचन आयोगले तयारी पनि गरिसकेको छ । जनताहरू मतदान गर्न आतुर भएर प्रतिक्षामा छन् । त्यसैले निर्वाचन सार्ने कामले केही असर चाहिँ गर्छ । तर खासमा यो निर्वाचन सार्ने काम अलोकतान्त्रिक हो । काङ्ग्रेस त्यतातिर मोडियो भने ऊ लोकतान्त्रिक हुन सक्दैन ।

गठबन्धन भएको केही दिनमै नयाँ शक्ति उसको भाषामा अघोषित रूपमा यो गठबन्धनबाट बाहिरियो । यसमा के स्वार्थ थियो ?
कतिपय समयमा स्वार्थ पक्कै हुन्छ । बाबुरामले गोरखाबाट प्रत्यक्षमा लड्ने चाहाना राखेका थिए, र त्यो उनको स्वाभाविक चाहाना पनि हो । तर नेकपा (माओवादी केन्द्र) बाट पनि शीर्ष नेतालाई उठाउने भन्ने भयो । पछि कुरा मिलेन उनी (बाबुराम) सिट नमिलेर गठबन्धनबाट बाहिरिएका हुन् । उनी चुनाव लड्ने बेलासम्ममा फेरि यही गठबन्धनमा आउन पनि सक्छन् ।

यो गठबन्धनको आवश्यकता चाहिँ किन प¥यो ?
एक्लाएक्लै लड्दा कुनै पनि पार्टीले बहुमत नल्याउने र स्थायी सरकार निर्माण नहुने अवस्था अहिलेसम्म भयो । यसले गर्दा मुलुकले विकास र समृद्धिको बाटो समात्न सकेन । त्यसैले बहुमत प्राप्त स्थायी सरकार अनि विकास र समृद्धिका लागि अहिले नेकपा एमाले र माओवादी केन्द्रको पहलमा गठबन्धन बन्ने अवस्था आएको हो । यसले काङ्ग्रेस लगायतका अन्य दललाई पनि ध्रुवीकरणको दिशातिर लगेको छ । यसले नेपालमा अब दुई दलीय अवधारणा निर्माण हुन लागेको छ ।

यो गठबन्धन बनेपछि निर्वाचनको मिति सार्ने जस्तो हल्लाहरू बाहिर आएका छन् । तपाईँ निर्वाचन समयमै हुन्छ भन्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
म लगायत म संलग्न पाटी नेकपा एमाले त विश्वस्त छ । यद्दपी निर्वाचन सार्ने भन्ने हल्ला चाहिँ पक्कै आएको छ र वर्तमान सरकार त्यसमा विभिन्न प्रपञ्चमा लागेको छ । तर कुनै षड्यन्त्रहरू सफल हुने छैनन् । जनताले गर्न दिने पनि छैन अहिले जनताको लागि विकास र परिवर्तनको आवश्यक छ त्यही अनुरुप संघिय ढाँचाअनुसार निर्वाचन हुनु जरुरी छ ।

संविधानसभा र रूपान्तरित संसदको पनि कार्यकाल सकियो । तपाईँको मूल्याङ्कनमा यसले कति उपब्धी प्राप्त भयो भन्ने लाग्छ ?
उपलब्धीकै कुरा गर्दा त नयाँ संविधान जारी हुनु ऐतिहासिक उपलब्धी हो । जनताका जोसुकै छोराछोरी प्रत्यक्ष प्रतिष्स्पर्धाबाट निर्णायक तहमा पुग्न पाउने शासन व्यवस्था गणन्त्र प्राप्त भएको छ । यो ठूलो उपलब्धी हो । त्यस्तै बिकेन्द्रिकृत राज्य सञ्चालन ढाँचा अर्थात् सङ्घीयता प्राप्त भएको छ । यी निकै ठूलो परिवर्तन हुन् । यसले नेपाललाई समृद्धि तर्फ मोडेको छ र यदि सहज कार्यान्वयन हुने हो भने अबको १० देखि १५ वर्षमा नेपालले नसोचेको समृद्धि प्राप्त गर्छ ।

समृद्धि शब्दलाई दोहो¥यारहनु भएको छ । के गर्दा चाहिँ हाम्रो मुलुक समृद्ध हुन्छ त ?
‘पिन पोइन्ट’ गर्ने हो भने मुलुकको भौतिक पूर्वाधारको विकास गर्नुपर्छ । यसले हरेक व्यक्तिको आर्थिक उन्नतिको ढोका खोलिदिन्छ । यस्तै हामीले राष्ट्रिय अर्थतन्त्रको विकासलाई जोड दिनुपर्छ र अन्य देशको आर्थिक सहयोगको आश गरेर बस्नु हुँदैन । हामी आफ्नो देश आफै बनाउने हो । यसले विदेशिएका युवाहरूलाई पनि स्वदेशमै बसेर उद्यमशील कर्ममा लाग्न प्रोत्साहित गर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको जहिलेसम्म हामीले डबल फाइदा युवाको श्रमबाट लिन सक्दैनौँ तबसम्म समृद्ध नेपाल बनाउन सकिदैन ।

डबल फाइदा भन्नाले ?
श्रम गरेबापत श्रमिकले पाउने ज्याला र उसले गरेको श्रमले हुने विकास निर्माण अर्थात् स्वदेशकै श्रमिकले काम गरेबापत उसले ज्याला पाउँछ र देशले भौतिक पूर्वाधार विकास लगायतमा गति लिन्छ । अनि त्यो श्रमिकले अधिकांश स्वदेशमै उत्पादित वस्तुको उपभोग गर्छ र त्यो पैसाले यहीँ चक्र लाउँछ, मुद्रा विदेशिदैन ।  अब त्यसो गर्नलाई त युवाहरूलाई यहीँ टिकाउन प¥यो । अर्थात् उनीहरूलाई रोजगारी चाहियो । पटक पटक निर्णायक तहमा पुगेका नेतृत्वले कबुल पनि गर्छन् । तर काम शून्य ।

यो अवस्थामा पलायन भइरहेका युवाहरूलाई रोक्ने वातावरण चाहिँ कसरी तयार गर्न सकिन्छ ?
नेतृत्वमा युवा पुग्नुपर्छ । मेरो मतलब क्रान्ति त्यही पुस्ताले र निर्माण पनि त्यही पुस्ताले गर्न सक्दैन । ठूलो क्रान्ति सफल भइसकेको छ । अब त्यो पुस्ता क्रान्ति गर्दैमा थाकिसक्यो । अब ‘फ्रेस’ निर्माण पुस्ताको आवश्यकता छ । जसले युवाहरूलाई विश्वास दिलाउन सक्छ, यहीँ पनि भविष्य छ भन्ने ग्यारेन्टी दिन्छ, सुरक्षा महसुस गराउँछ र यहीँ केही गर्न सकिन्छ भनेर आशा जगाइदिन सक्छ । यसो गरेमा पलायन भइरहेका युवाहरूलाई रोक्न सकिन्छ ।

त्यो वातारण निर्माणमा को जिम्मेवार छ ?
राज्य, राजनीतिक दल र हामी जस्ता हरेक व्यक्ति । वास्तवमा हामी सबैले यसमा योगदान पु¥याउनुपर्छ आर्थात् जिम्मेवार हुनुपर्छ ।

अर्को प्रसङ्ग, लगभग तिन वर्ष बित्न लाग्दा पनि भूकम्प पीडितको घर किन बन्न सकेको छैन ?

कतिपयले अझै किस्ता पाएका छैनन् ।वास्तवमा म यो प्याकेज किस्ताको बिरोधमा थिएँ । यस्तै ढिलाइ हुन्छ भन्ने मलाई लागेको थियो । किनकी यसमा धेरै अनेक प्रक्रियाहरू छन् । ती झन्झटिला छन् । यसले गर्दा ढिलो भएको हो ।

कसो गर्दा चाहिँ राम्रो हुन्थ्यो त ?
मैले भन्ने गरेको चाहिँ यति २÷३ लाखले सामान्य घर बनाउन पनि पैसा पुग्दैन । बरु पीडितलाई सरकारले घर बना भनेर आदेश दिने । उसले प्राविधिकको निगरानीमा भूकम्प प्रतिरोधात्मक घर बनाउँछ र इन्जिनियरले प्रमाणित गरेको बेला तुरुन्त एकमुस्ट तिन लाखको चेक काटेर दिने प्रक्रिया अपनाएको भए म ठोकुवाका साथ भन्छु ९० प्रतिशत भन्दा बढी घर बनिसक्थे । तर अहिले १० प्रतिशत पनि बनिसकेका छैनन् ।

अन्त्यमा आम पाठक र जनतालाई के भन्नुहुन्छ ?
विकासको गति अगाडी बढिसकेको छ । हामी त्यस गतिलाई सहजै अपनाउन सकिरहेका छैनन् । जसले गर्दा केही तालमेलको व्यवस्थापन हुन सकिरहेको छैन् । समयअनुसार चल्ने बानीको विकास गरि राज्य व्यवस्थापनमा मजबुत बनाउन आम नेपाली दाजुभाइले सधै निगरानी गर्नु आवश्यक छ । आम जनता जवसम्म सचेत बन्दैन तबसम्म केही अवसरवादी तत्वहरुले देशलाई विगार्ने काम गरिरहन्छन् त्यसको लागि समय समयमा खबरदारी गर्नु पर्छ । र आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सरिक भई ईमन्दार तथा विकासप्रेमी उम्मेद्वार र दललाई छनौट गर्न अपिल गर्दछु ।