आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित

मंसिर ८, काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ बनाउन सक्यो ।  मलेसियाको लागि एमिलिया एलीयानीले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले उलेख्य रन जोड्न सकेनन् । त्यसबाहेक मलेसियाकी जयानी सायमीमीले अविजित १६ तथा कप्तान विनफ्रेड ड्यूराइजमले ११ रन बनाइन् । त्यस्तै जन्नादिहा हालिमले ८ रन जोड्दा क्रिस्टिना बरेट ६ रनमा आउट भइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् । त्यस्तै, सिता राना मगर, नेरी थापा, सोनु खड्का र रिता कुमारी कनुजियाले समान एक एक विकेट लिए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पूरै २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाएको थियो । नेपालको लागि ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट पारी खेलेका थिए । पहिलो विकेटका लागि सिता र ज्योतिले ६६ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा सिता ३७ रनमा आउट भइन् भने ज्योति २१ रनमा आउट भइन् ।  सिता र ज्योति पेभेलियन फर्किएपछि आएका मध्यक्रमका ब्याट्सवुमनले उलेख्य रन जोड्न नसक्दा नेपालले उच्च स्कोर बनाउन सकेन । नेपालकी इन्दु बर्मा ६ रनमा अविजित रहँदा कप्तान रुबिना क्षेत्री पनि २ रनमा नटआउट रहिन् । त्यसबाहेक नेपालकी काजल श्रेष्ठले १४ रन जोड्दा रोमा थापाले ६, नेरी थापा ५ रन बनाँउदा रिता कुमारी कनुजिया १ रनमा पेभेलियन फर्किए । मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिए ।

 

यो जितसँगै नेपालले छनोटको शिर्ष दुई स्थानमा रहँदै नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने झिनो सम्भावना कायम राखेको छ । तर, नेपालको अर्को चरणको यात्रामा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ ।  बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । त्यसअघि नेपालले आयोजक थाइल्याण्ड र हङकङसँग एक एक अंक बाँडेको थियो ।  छनोटमा नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल अंक तालिकामा चौथो स्थानमा छ । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा झरेको छ । छनोटमा थाइल्याण्ड ७ अंकसहित शिर्ष स्थानमा रहँदा हङकङ समान ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै ४ अंक जोडेको युएई तेस्रो स्थानमा रहदा चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।  राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

फाइल तस्बिर ः थाइल्याण्ड क्रिकेट एसोसिएसन


प्रकाशित | २०७४ मंसिर ८ प्रकाशित ०६:११

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ