अवैध कल नियन्त्रणमा टेलिकमको सक्रियता

१५ मंसिर २०७४, शुक्रबार ०३:४८

मंसिर १५, काठमाडौं । पछिल्लो समयमा विदेशबाट आईरहेका अवैध कल नियन्त्रण गर्न नेपाल टेलिकमले सक्रियता देखाएको छ ।

ठगी गर्ने नियातले लाखौ चिठ्ठा परेको भन्दै विदेशबाट आउने त्यस्ता कलबाट सचेत रहन कम्पनीले आफ्ना ग्राहकलाई अनुरोध पनि गरेको छ ।

विदेशबाट टेलिकमको मोबाईल तथा ल्याण्डलाईनमा कल आँउदा पनि नेपाल टेलिकमकै नम्बर देखिएमा त्यस्तो कल अवैध हुने टेलिकमले जनाएको छ । यस्ता कलको गुणस्तरसमेत कम हुने र राजस्वसमेत छलिएको हुनाले सचेत हुनुपर्ने टेलिकमको भनाई छ । विदेशबाट प्राप्त हुने व्यक्तिगत कल ट्याक गर्न समेत समस्या हुने भएकाले यस्ता कलबाट अवाञ्छित गतिविधि हुने टेलिकमले जनाएको छ । टेलिकमले यसरी विदेशबाट आएको कलमा पनि कम्पनीकै नम्बर देखिएको अवस्थामा १८८ नम्बरमा सम्पर्क गरेर नम्बर टिपाईदिन आग्रह गरेको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने टेलिकमले जानकारी दिएको छ ।