अलैचीको भाउ बढेन, किसान चिन्तामा

८ कार्तिक २०७४, बुधबार ०८:५३

कात्तिक ८, फिदिम । अलैँचीको मूल्य निरन्तर ओरालो लागेसँगै किसान मारमा परेका छन् । पूर्वी पहाडका किसानको मुुख्य आम्दानीको स्रोत बनेको अलैँचीको मूल्यमा सुधार नआएपछि किसान चिन्तित छन् ।

विगत वर्षमा जस्तै चाडपर्वको बेला मूल्यमा सुधार आउने आसमा रहेका किसान दसैँतिहारजस्ता मुख्य चाड सकिँदा पनि अलैँचीको मूल्यमा सुधार नभएपछि चिन्तित बनेका हुन् । केही वर्षअघिसम्म जिल्लामै प्रतिमन (४० किलो) एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको अलैँची अहिले ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो वर्षभन्दा ५० प्रतिशत मूल्यमा कमी आएको अलैँची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालको भनाइ छ । ‘मूल्यमा सुधार आउने छाँटकाट छैन’, उनले भने, ‘सुधार हुनुको साटो मूल्य निरन्तर ओरालो लागेको छ ।’

मेची पहाडका जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा कृषि उपजको निर्यातमा अलैँचीले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । १० वर्षयताकै कम मूल्यमा अलैँचीको कारोबार भएको अलैँची व्यवसायीहरूको भनाइ छ । अलैँचीको मूल्यमा आएको निरन्तरको गिरावटले किसानजस्तै व्यापारी पनि मारमा परेको फिदिमका अलैँची व्यवसायी नरेन्द्र अधिकारीले बताए ।