अब राजनीतिक संघर्षको युग सकियो : अध्यक्ष ओली

४ पुष २०७४, मंगलवार ०२:१६

पुस ४, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अब राजनीतिक संघर्षको युग सकिएको बताएका छन् । हिजो बालकोट स्थित आफ्नै निवासमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अब सामाजिक विसंगती विरुद्धका अभियान द्रुतगतिमा अघि बढ्ने बताए । उनले दलित समुदायले आरक्षणमा मात्र भर नपरेर प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्नु पर्ने बताउँदै निश्चित समयका लागि मात्रै राज्यका विभिन्न निकायमा आरक्षणको व्यवस्था गरिने हुँदा खुला प्रतिस्पर्धामा जान तयार हुन लाग्नु पर्नेमा जोड दिए।

अध्यक्ष ओलीले अब नेपालमा छुवाछूत प्रथा लामो समय कायम नरहने प्रष्ट्याउँदै विगतका राजनीतिक आन्दोलनले यो विषयलाई अलि पछि पारे पनि अब पछि नपार्ने धारणा व्यक्त गरे । नेपाली संस्कृतिले छुवाछूतको कल्पना नगरेको भए पनि संस्कृतिलाई विकृत बनाएर छुवाछूत घुसाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले अबको युग कोहीबाट अपमानित, अपहेलित वा तिरस्कृत हुने समय नभई अब सबैले आत्मसम्मानका साथ बाँच्न पाउने युगको सुरुवात भएको बताएका थिए । उनले छुवाछूत अन्त्यका लागि एमालेले विगत देखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गर्दै दलित समुदायलाई राज्यका उपल्लो तहमा स्थान दिएको स्मरण गरे । एमालेले सामाजिक सचेतना फैलाउन र जातीय छुवाछूत हटाउनकै लागि मुक्ति समाजलाई वर्गीय संगठनको रुपमा अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो ।
–रासस