अनलाइन पत्रिका प्रहरीविरुद्ध अदालतमा

१२ पुष २०७४, बुधबार १०:२७

पुस १२, काठमाडौं ।

सुनशान न्युज डटकम र मूलधार न्युज डटकमले महानगरीय प्रहरी परिसरबाट तत्कालीन प्रहरी नायक महानिरिक्षक नवराज सिलवालको कार्यसम्पादनका मूल्यांकनका विषयमा प्रकाशित समाचारसँग सम्बन्धित कागजात मागेको कार्यले संविधान प्रदत्त सञ्चारको अधिकारमाथि आक्रमण गरेको दाबी गर्दै मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् ।

ह्वाइट स्टार मिडिया प्रालि र न्युज मिडिया प्रालिका मदन भण्डारी र रविसिंह धामीले संयुक्त रुपमा रिट दायर गरेको हुन् । नेकपा एमालेको टिकटमा ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन प्रहरी महानिरिक्षक सिलवालले सर्वाेच्च अदालतमा पेश गरिएको भनिएको फरक कार्यसम्पादन मूल्यांकनका विषयमा आफूसँग भएका कागजात उपलब्ध गराउन पत्राचार गरेविरुद्ध ती अनलाइन पत्रिकाका सम्पादक उच्च अदालत पुगेका हुन् ।

मुख्य सचिव लोकदर्शन रेग्मी, महान्यायधिवक्ताको कार्यलय, प्रहरी प्रधान कार्यलय, महानिरीक्षक प्रकाशकुमार अर्याल, गृह मन्त्रालय, महानगरीय प्रहरी परिसर (अपराध अनुसन्धान तथा कारबाही शाखा) टेकु र नेपाल टेलिकम केन्द्रिय कार्यालयलाई मुद्दामा विपक्षी बनाइएको छ ।