अध्यक्ष ओलीप्रति आक्रोश व्यक्त गर्दै आचार्यले गरे उम्मेदवारी फिर्ता

कात्तिक ८, काठमाडौं । जाजरकोटको प्रदेश सभा क बाट नेकपा एमालेका उम्मेदवार बनेका निरज आचार्यले पार्टीको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बुधवार विहान सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी आचार्यले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

पत्रकार सम्मेलनमा आचार्यले भने– मैले पार्टी स्थायी कमिटी बैठकबाट टिकट पाएर उम्मेदवारी दिएँ । तर, मेरै कारण वामपन्थी गठबन्धन भत्किन नदिन पार्टीको निर्देशन शिरोपर गर्नुपर्यो । अध्यक्षले निरंकुश शैलीमा मेरै टिकट खोस्नुभयो, त्यसैले ओलीको टिकट ओलीलाई नै फिर्ता भयो ।

 

एमाले माओवादी सिट बाँडफाँटका क्रममा जाजरकोटको प्रतिनिधिसभा माओवादीलाई र प्रदेशसभा दुवै एमालेको भागमा परेको थियो । तर, उम्मेदवारी मनोयनका दिन हुम्लामा एक सिट माओवादीले पाउने भएपछि जाजरकोट एमालेले एउटा छाड्ने सहमति केन्द्रमा भयो ।  तर त्यतिबेलासम्म जाजरकोट क मा आचार्य र ख मा एमालेकै करवीर शाहीले मनोनयन दर्ता गरिसकेका थिए । माओवादीका गणेशप्रसाद सिंहले पनि आचार्यकै क्षेत्रमा उम्मेदवारी दर्ता गराएपछि विवाद भएको थियो । प्रदेश ख मा पनि माओवादीका नरबहादुर कार्कीले उम्मेदवारी दिएका छन् ।

 

आचार्यको उम्मेदवारी फिर्तासँगै माओवादीका सिंह प्रदेश ख मा वाम गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।  प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहले पनि उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन् ।  उम्मेदवारी फिर्ता लिन शाहले राष्ट्रियसभा सदस्य वा प्रदेश तथा प्रतिनिधिसभाको समानुपातिकतर्फ आफ्नो स्थान सुरक्षित गर्नुपर्ने माग गर्दै आएका छन् । उनले पार्टीले आफूलाई अन्याय गरेको भन्दै सम्मानजनक स्थानको माग गरेका छन् ।  एमाले नेताहरुले जाजरकोटमा स्थानीय चुनाव परिणामले एमाले पहिलो पार्टी भए पनि सिट बाँडफाँटमा माओवादीलाई बढी दिइएकोमा केन्द्रीय नेतृत्वप्रति आक्रोश पोखेका छन् ।


प्रकाशित | २०७४ कार्तिक ८ प्रकाशित ०५:०७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ