जिल्लाको गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका वनबहादुर महतालाई हात्तीपाइले रोग भएको ३५ वर्ष भयो।
उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्। घरमा ४ जनामा हात्तीपाइले रोगको संक्रमणले सताएपछि उनीहरूले राम्रो उपचार पाउन सकेका छैनन्। वनबहादुरसहित उनका परिवारमा एक छोरी, दुई छोरामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ। भारतका विभिन्न अस्पतालमा उपचार गराएको भए पनि नेपालमा भने उपचार नगराएको महताले बताए। करिब १८ वर्षको उमेरमै हात्तीपाइले रोगबाट संक्रमित भएका महताका दुवै छोरा र एक छोरीलाई पनि १२ देखि १६ वर्षको उमेरमा हात्तीपाइले रोग देखा परेको थियो। जर्मना गाउँका बनबहादुरको परिवारमा चार जनालाई हात्तीपाइले रोगले संक्रमण गरेको भए पनि श्रीमती र बुहारीमा भने रोगले संक्रमण गरेको छैन।
बनबहादुरका बुवा एकजना भाइलाई पनि हात्तीपाइले रोगको संक्रमण देखिएको थियो। रोगकै कारण भाइले आत्महत्या गरेको उनले सुनाए। आर्थिक अभावले थलिएको यस परिवारले अब उपचारमा सम्भव नभए पनि परिवार पाल्नका लागि सहयोगको आग्रह गरेका छन्। ‘उपचार सम्भव छैन’ महताले भने,साँझ बिहान हात मुख जोर्नका लागि पनि समस्या भएको छ यस्तो समयमा कहाँ कोसँग गएर के भन्ने आफ्नो दुःख आफैसँग छ। खेतबारीको काम गर्न सकिँदैन।’ बनबहादुरका छोरा प्रकाश महताले भने,।
‘घरमा आमा र श्रीमतीले मेलोपात गरेर मात्रै आफूहरूलाई एक छाक खानका लागि सम्भव भएको छ।‘देशबाट हात्तीपाइले नियन्त्रण भएको सरकारले घोषणा गरे पनि एकै परिवारका चार जना सदस्यहरू हात्तीपाइलेबाट थला पर्दा समेत कुनै निकायले उपचारका लागि सहयोग गरेको छैन। दैनिक कामकाज गर्न नसकिँदा परिवार पाल्न समेत धौ धौ भएको उनको भनाइ छ। हात्तीपाइले रोग सरुवा रोग हो। मसिनो धागो आकारको एक प्रकारको जुकाबाट यो रोग लाग्छ। क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग लाग्छ। तीन प्रकारका परजीवीबाट लाग्ने हात्तीपाइले रोग नेपालमा भने उच्चेरेरिया बाँन्क्रोफ्टी परजीवीको संक्रमणबाटै हुने गरेको पाइएको छ। विशेषगरी मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका लक्षणहरू देखिने गर्दछ। यो रोग एक पटक देखिइसकेपछि फेरि निको पार्न सकिँदैन। हात्तीपाइले रोग बाहिर नदेखिँदै वर्षमा एक पटकको दरले छ वर्षसम्म आम औषधि सेवन गरेको खण्डमा यो रोग सर्ने प्रक्रियालाई पूर्णतया रोक्न सकिन्छ। रोगीहरूलाई अंगभंग हुनबाट जोगाउन सकिन्छ।