विवादित स्वास्थ्य सचिव डा पुष्पा चौधरीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ । सचिव भएसँगै विवादित बनेकी सचिव चौधरीलाई प्रधानमन्त्रीको कार्यालयमा काज सरुवा गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले पुष्टि गरे । स्वास्थ्य मन्त्रालयले यसबारे केही खुलाएको छैन । स्रोतका अनुसार आर्थिक प्रलोभनमा परेर जथाभावी निर्णय गर्न थालेपछि सचिव चौधरीलाई कारवाहीस्वरुप प्रधानमन्त्री कार्यलयमा सरुवा गरिएको हो ।
यसअघि स्वास्थ्य सचिव चौधरीले मापदण्ड नै नपुगेको मेडिकल कलेजलाई अस्पताल सञ्चालनको अनुमति दिन लागिपरेको खुलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आर्थिक प्रभावमा परेर सचिव डा चौधरीले घट्टेकुलोस्थित काठमाडौं नेशनल कलेज प्रा।लि।लाई ३०० शैयाको अस्पताल सञ्चालन गर्नका लागि अनुमति दिन जोडबल गरेकी थिइन् ।
यहि विषयमा सचिव चौधरी मन्त्री उपेन्द्र यादवबीच विवाद नै भएको थियो । स्वास्थ्य सचिव डा चौधरीको लबिङका बीच असोज दोस्रो साता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले काठमाडौँ नेशनल कलेजलाई अहिलेकै अवस्थामा अस्पताल चलाउन स्वीकृति दिन नसकिने भन्दै पत्र नै काटेपछि यो विषयले बाहीर आएको हो । महाशाखाले नेशनल कलेजले ३०० शैयाको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरेपनि पूर्वाधार पूरा नभएकाले अहिलेकै अवस्थामा स्वीकृति दिन नसकिने स्पष्ट पारेको थियो ।