हुम्लामा ४४ मध्ये २९ वडा सचिवबिहीन

७ कार्तिक २०७५, बुधबार ०९:२१

हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् ।

ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव कार्यरत रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । गाउँपालिका केन्द्र पुग्न तीन दिनसम्म पैदलयात्रा लाग्ने उक्त गाउँपालिकामा सचिव अभावले गर्दा काम गर्न गाह्रो भएको छ ।खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए । सचिव अभावले हालसम्म प्रथम चौमासिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । गाउँ पालिकाको अन्य दैनिक प्रशासनिक काम पनि सचिव अभावले प्रभावित भएको अधिकृत शाहीले उल्लेख गरे । आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए ।चङ्खेली गाउँपालिकामा छ वडामध्ये दुई मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव फुयाँलको भनाइ छ ।

जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् । सचिवका लागि पटक–पटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल ती भएका दुई सचिवबाट जेनतेन काम चलाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।दक्षिण क्षेत्रमा पर्ने अर्को ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार ५ वडामध्ये दुई वडामा मात्र सचिव छन् । जिल्लाका ४४ वडामध्ये २९ वडा कायार्र्यलय सचिवबिहीन हुँदा नागरिकता, जन्म, मृत्यु दर्ता, चौमासिक वृद्धाभत्ता वितरणमा समस्या भएको छ ।