दशैंमा मुस्ताङबाट ३० करोडको भेडा र च्याङ्ग्रा निर्यात

५ कार्तिक २०७५, सोमबार ०९:२३

हिमालपारिको जिल्ला मुस्ताङ हुँदै यस वर्षको दशैंमा करिब ३० करोड रुपैयाँ बराबरका भेडा, च्याङ्ग्राको निकासी भएको छ।

 

मुस्ताङमा उत्पादन भएकासहित डोल्पा, मुगु र तिब्बतबाट खरिद गरिएका १६ हजार ७०० भेडा, च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको मुस्ताङका प्रमुख पशु चिकित्सक शिव भुसालले जानकारी दिए। उनका अनुसार १३ हजार ९८५ भेडा र दुई हजार ७१५ वटा च्याङग्रा स्वास्थ्य परीक्षणपछि बिक्रीका लागि मुस्ताङबाट बाहिर पठाइएको हो। यीमध्येबाट नेपाल खाद्य संस्थानले ९२५ वटा काठमाडौंका लागि खरिद गरेको थियो। म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, काठमाडौं, सिन्धुपाल्चोकलगायतका ठाउँका व्यापारीहरुले मुस्ताङ पुगेर भेडा, च्याङग्रा खरिद गरेका थिए।

जोमसोममा एउटा च्याङग्रा २० देखि २२ हजार भेडा १७ देखि १९ हजार रुपैयाँसम्म किनबेच भएको थियो। निर्यात गरिएका भेडा तथा च्याङ्ग्रामध्ये करिब ८० प्रतिशतभन्दा बढी मुस्ताङकै उत्पादन हुन्। दशैँबाहेक तिहारका लागि पनि मुस्ताङबाट भेडा र च्याङ्ग्राको निकासी हुने गरेको छ। यस वर्ष तिहारका लागि करिब पाँच हजार वटा भेडा र च्याङग्रा निकासी हुन सक्ने  भुसालले बताए। स्थानीय तहहरुले लिएका कर का कारण यस वर्ष अघिल्ला वर्षको तुलनामा मुस्ताङबाट निर्यात हुने भेडा र च्याङग्रा महँगो भएको थियो।