सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकको समय सरेको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजे बस्ने भएको छ।
नेकपाको सचिवालय बैठक दशैँअघि पटकपटक समय तोकेर दशैँपछिसम्मका लागि स्थगित भएको थियो। आज बस्ने बैठकमा सरकारको समीक्षा नेता माधवकुमार नेपालले राख्दै आएको असन्तुष्टीबारे छलफल हुने नेकपाले जानकारी दिएको छ। पछिल्लो समय सरकारका कामलाई लिएर नेकपाका नेताहरू नै सार्वजनिक रूपमा विरोधको अभिव्यक्ति दिइरहेका छन्। मन्त्रीहरूले अपेक्षित काम गर्न नसकेको भनेर नेकपाका सांसद र वरिष्ठ नेताहरूले नै सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्।
सरकारमा रहेर काम राम्रो गर्न नसकेका नेताहरूलाई फिर्ता बोलाउने सम्मको चर्चा भइरहेका बेला नेकपा भित्र मन्त्रीहरू फेर्ने सम्मको छलफल हुने बताइएको छ। नेता नेपालको असन्तुष्टि र वामदेव गौतमलाई काठमाडौं ७ बाट उपनिर्वाचनमा उठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।
नेता नेपालले पार्टीको प्रदेश तहमा एकीकरण हुँदा आफू निकटका नेताहरूलाई पाखा पारिएको र कतिपय नेताहरूलाई दोहोरो जिम्मेवारी दिइएको भन्दै असन्तुष्ट रहेका थिए। वामदेव गौतमलाई काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर संसदमा ल्याउन पहल गर्नेबारे भएका गतिविधिबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ।
गौतमलाई सांसद बनाउन भन्दै मानन्धरले राजीनामा घोषणा गरेका थिए। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत मानन्धरले राजीनाका लागि निवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए। तर, पार्टीभित्र र बाहिर उक्त कार्यको चर्को आलोचना भएका कारण औपचारिक रूपमा मानन्धरको राजीनामा गराउने बारे छलफल र निर्णय भएन भने गौतमले पनि काठमाडौं ७ मा नउठ्ने भन्ने विज्ञप्ति जारी गरेका थीए।