नेपालको झण्डावाला रेल गुडाउने

२९ आश्विन २०७५, सोमबार ०८:३०

जनकपुर जयनगर रेलमार्गको व्यवस्थापन सरकारले नै लिने भएको छ। नेपालको झन्डासहितको रेल चलाउन आवश्यक प्रकृया अगाडि बढाउन नेपाल सरकारले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

आइतबार बसेको मन्त्रिपरिद बैठकले जनकपुर जयनगर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको भन्दै आफ्नै व्यवस्थापनमा रेल गुडाउन आवश्यक व्यवस्थापनका निम्ती निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। ‘नेपाली झण्डासहितको रेल गुडाउने सन्दर्भमा नेपालकै आफ्नो व्यवस्थापनमा रेलवे सेवा सञ्चालन गर्नका निम्ती आवश्यक कानुनी र संरचनागत कामको तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ’,मन्त्रिपरिषदको बैठकले समग्र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ती सुझाव दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको छ। समितिले आगामी ६ महिनामा नेपालको समग्र विकासका लागि चाहिने शैक्षिक जनशक्ति कहाँ, के, कति आवश्यक छ भनी समग्र अध्ययन गरेर १५ औँ पञ्चवर्षिय योजनामा समावेश गर्ने गरी जनशक्तिको आँकलन गर्नेछ। यसैगरी जमलस्थित परिक्षा नियन्त्रण कार्यालय पहिलेको जनप्रशासन क्याम्पसलाई अत्याधुनिक सुविधासहितको राष्ट्रिय पुस्तकालय बनाउने मन्त्रिपरिषदको निर्णय गरेको छ। चिकित्सा शिक्षाको क्षेत्रमा यसवर्ष शुल्क नबढ्ने भएको छ। मन्त्रिपरिषदले विगतको कार्यदलले गरेको निर्णयअनुसार नै यसवर्षको मेडिकल शिक्षाको शुल्क यथावत राख्ने निर्णय गरेको हो। परराष्ट्रमन्त्री ज्ञवालीले यसवर्ष मेडिकल शिक्षाको शुल्क बढाउन नपाइने सरकारले निर्णय गरेको जानकारी दिए।। लोकसेवा आयोगलाई आगामी दुई महिना पछि मात्रै विज्ञापन गर्नेगरी हालका लागि विज्ञापन नखोल्न आग्रह गरेको हो। सबै मन्त्रालयहरू ओएनएम सकाएपछि मंसिरबाट नयाँ कर्मचारी नियुक्तिका निम्ती विज्ञापन खुल्ला हुन्छ।बैठकस्थलबाट बाहिरिँदै गर्दा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही निर्णय मात्रै सुनाए।