घुस नखाने कसम खाएको १० दिन नबित्दै १६ पक्राउ, १९ लाई मुद्दा

२७ आश्विन २०७५, शनिबार ०७:४०

सरकारले १७ असोजमा भ्रष्टाचार नगर्ने कसम खान सबै कर्मचारीलाई निर्देशन दियो। सबैले कार्यालय प्रवेश गर्नुअघि शपथ पनि खाए। तर घुस लिन छाडेनन्। अन्नपूर्ण पोस्ट मा खबर छ प्रधानमन्त्री कार्यालयले परिपत्र गरेको एक साता नबित्दै १६ कर्मचारी कार्यालय समयमै घुस लिँदालिँदै पक्राउ परे। १९ जना विरुद्ध अख्तियारले भ्रष्टचार मुद्दा दायर गर्‍यो।

घुस खाँदिनँ भनेर शपथ लिनुको कुनै अर्थ देखिएन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले भने घुस खाने कर्मचारी पक्राउ पर्न कम भएको छैन। कर्मचारीले घुस खानै नपाउने व्यवस्था चाहिएको दंगालले जिकिर गरे।शपथले पुग्दैन, सरकारी सेवामा संरचनागत परिवर्तन र सुधारको खाँचो छ। सरकारको अहिलेको रणनीतिले काम नगरेको दंगालको बुझाइ छ। उनले घुस खान नदिन र त्यस्तो वातावरणै बन्न नदिन सरकारले कठोर कदम चाल्नुपर्ने सुझाएका छन।