आज ६३ औं प्रहरी दिवस मनाइँदै,

२५ आश्विन २०७५, बिहीबार ०८:२४

 

काठमाडौं । नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुदैहुन्छ ।

 

बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिभिलियनतर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखकलाई पनि पुरस्कृत गरिनेछ ।

‘संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित हुनेछन्, ‘यही अवसरमा योगेन्द्र स्मृति सहासिक पुरस्कार पनि प्रदान गरिनेछ ।’

दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तीन दिनसम्म जारी रहने यो दिवस बुधबारबाट मनाउन सुरु गरिएको भए पनि बिहीबारलाई मुख्य दिन मानिन्छ । दिवसको अवसरमा ३ दिनै विभिन्न प्रहरी कार्यालयले हरेक साँझ दिपावली पनि गरिरहेका छन् ।