कालिमाटी तरकारी बजार बन्द गर्ने कृषिमन्त्री खनालको योजना

२४ आश्विन २०७५, बुधबार १६:५३

 

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने टिप्पणी गर्नु भएको छ । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताउनु भयो ।

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । तर तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताउनु भयो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा उहाले भन्नु भयो ‘मलाइ त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्‍यौं । ५७ वटा खारेज भएको थियो । तर अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’

मन्त्री खनालले काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको बताउनु भएको छ । पत्रकार सम्मेलनमा उहाँले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरेको बताउनु भयो ।

‘काठमाडौंमा उपलब्ध ९० प्रतिशत रागा र भैंसीका मासु खानलायक छैन । ५ वटामा अनुगमन गर्दा ४ वटा बन्द गरेका छौं, न्युनतम मापदण्ड पनि लागू गरेको पाइएन’ उहाले भन्नु भयो । राँगाभैंसीको तुलनामा खसी र कुखुराको मासु केही सफा रहेको मन्त्री खनालले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।