वनमन्त्री बस्नेत बेलायत प्रस्थान
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बेलायत प्रस्थान गरेका छन् । अवैध वन्यजन्तुको अंगप्रत्यंगआखेटोपार बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बस्नेत मंगलबार राति बेलायत प्रस्थान गरेका हुन् ।
एसिया, युरोप लगायत विभिन्न ५० मुलुकका करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी हुने सम्मेलनको उदघाटन शत्रलाई मन्त्री बस्नेतले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार मन्त्री बस्नेले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने निस्कर्ष बैठकमा समेत मन्तव्य दिने उनको सचिवालयले जनाएको छ ।
सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुनेछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सो कार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो ।
विश्वमा कस्तुरी मृगको विना, गैंडाको खाग, हात्तीको दाह्रा, बाघ तथा चितुवाका छाला, नंग्रा र खप्पर, भालुको पित्त, सालकको खपटा, कृष्णसार, जरायो, चित्तल, घोरल र रतुवाको खप्पर तथा सिङ तथा स्तनधारी र वन्यजन्तुका रौंको अवैध ओसारपसार हुँदै आएको छ ।
साइटिस सन्धिको पक्षराष्ट्र भएकाले त्यस्ता वस्तुको बिक्रीवितरण गर्न नमिल्ने भएका कारण नेपालले चितवनको टिकौली र कसरामा वर्षौंदेखि जम्मा पारेर राखिएका ठूलो परिमाणका आखेटोपार करिब दुई वर्षअघि जलाएको थियो ।