नवरात्र सुरु, आज घरघरमा घटस्थापना गरिँदै

२४ आश्विन २०७५, बुधबार ०८:२९

आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादसैँको पहिलो दिनआज दसैँघर तथा विभिन्न शक्तिपीठमा घटस्थापना गरिँदैछ। बिहान शुभमुहूर्तमा दसैँघर तथा शक्तिपीठमा विशेष घडा थापिन्छ। घडामा विभिन्न देवीदेवताको आवाहन गरी पूजा गरिन्छ। घडामा भगवती दुर्गाको विशेष पूजा गरिन्छ जौ छरिन्छ। विभिन्न जाति सम्प्रदायमा धान, गहुँ र मकैलगायत अन्न पनि छर्ने चलन छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत ७ बजेर १५ मिनेटमा छ।

सामान्यतया बिहानीपख जुनसुकै समयमा घटस्थापना गर्न सकिन्छ। प्रतिपदादेखि नवमीको रातसम्म विशेषगरी राति देवीको आराधना गरिने भएकाले यो अवधिलाई ‘नवरात्र’ पनि भनिन्छ। वर्षका चारमध्ये शरद ऋतुमा पर्ने नवरात्रको विशेष महत्त्व पुराणमा बताइएको छ। नौ दिनसम्म दुर्गाका एक–एक स्वरूपको आराधना गरिन्छ। यो समयमा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको पूजाअर्चना गर्ने परम्परा छ। काठमाडौंस्थित गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, गोरखाको मनकामना, काभ्रेको पलाञ्चोकभगवती र बाँकेको बागेश्वरीलगायत शक्तिपीठमा भक्तजनको घुइँचो लाग्छ।

नौ दिन नौ रात देवीको पूजा आराधना गरी दशमीका दिन प्रसाद लगाउने परम्परा छ। नेपाली समाजमा भने नौ दिनमा तयार भएको जौका जमरा देवीको प्रसादस्वरूप मान्यजनको हातबाट लगाउने चलन छ। कतिपय स्थानमा पूर्णिमासम्म टीका लगाइन्छ। दशमीका दिन घरका मान्यजन बाट टीका थापेपछि मावली, , ससुरालीलगायत कहाँ पूर्णिमासम्म पुग्ने चलन छ। भारत तथा नेपालको तराईका विभिन्न स्थानमा यस लाई ‘दशहरा’ का रूपमा मनाइन्छ। यहाँ नौ दिनसम्म देवीको पूजा आराधना गरी दसौँ दिन प्रसाद लगाएपछि मूर्ति वा प्रतिमा विसर्जन गरिन्छ। नेपालीभाषी सनातन धर्मावलम्बी रहेका अन्य देशमा पनि विभिन्न कार्यक्रम गरी बडादसैँ मनाइन्छ।