काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय समितिका सभापतिहरुको आलोचना नगर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पत्रकारहरुलाई प्रवेश निषेध गरेको विषयलाई लिएर सभापति शशी श्रेष्ठको आलोचना भइरहेका बेला सभामुख महराले समितिहरुले हालसालै मात्रै काम सुरु गरेकोले आलोचना गर्न नहुने प्रतिक्रिया दिनु भएको हो ।
शुक्रबार दसैं, तिहार र छठ पर्वको अवसर पारेर दाङ–काठमाडौं पत्रकार समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले समितिले गृह र रक्षा मन्त्रालयको संवेदनशील विषयमा पत्रकारहरुलाई निषेध गरेर छलफल गर्नसक्ने प्रावधान रहेको पनि स्पष्ट पार्नु भयो । तर, आमरुपमा भने पत्रकारहरुलाई कुनै पनि समितिले निषेध नगरेको र नगर्ने सभामुख महराले बताउनु भयो ।