काठमाडौं । काठमाडौंको मुलपानीमा गएराति प्रहरीले जुवाडेमाथि चलाएको अपरेशनका क्रममा भागदौड हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरोज घले र सानुलाल तामाङ छन् ।
गोप्य सूचनाको आधारमा काठमााडौं प्रहरी परिसरबाट प्रहरी नायब उपरीक्षक डिएसपी होमेन्द्र बोगटीको नेतृत्वमा खटिएको टोली जुवा खेलाइराखिएको घरमा पुग्ने वित्तिकै भागाभाग भएको थियो । त्यसक्रममा झ्यालबाट हाम फाल्दा दुर्इ जनाको मृत्यु भएको हो ।
घर बाहिर रहेको सादा पोशाकका प्रहरीले दुई जना व्यक्तिले हामफालेको चाल पाएलगत्तै उनीहरुलाई प्रहरीको भ्यानमा हस्पिटलसम्म लगिएको थियो । तर, ग्वार्कोस्थित विएण्डबी हस्पिटलमा उपचारको क्रममा उनीहरूको राति नै मृत्यु भयो ।
प्रहरीले जुवाको खालबाट २३ जनालाई पक्राउ गरिएको जनाएको छ । उनीहरुको साथबाट ४ लाख ४८ हजार रुपैयाँ पनि बरामद भएको छ ।
तर, मुख्य नाइके भने भाग्न सफल भएकी छन् । प्रहरीका अुनसार बौद्ध क्षेत्रको विभिन्न स्थानमा हरेक दिन भिन्नभिन्न घरमा जुवा खेलाइँदै आएको थियो ।
त्यसको नाइके थिइन्, हेमा गुरुङ । उनले लामो समयदेखि जुवा खेलाउँदै आएको प्रहरी स्रोत बताउँछ ।
‘दुई जना घाइते भएपछि प्रहरीको एउटा समूह उद्दारमा जुट्दा उनी उम्कन सफल भइन्’, एक प्रहरी अधिकारीले भने, ‘त्यही कारण रकम पनि कम बरामद भयो ।’
प्रहरीले जुवाडेको एउटा कार र १० वटा मोटरसाइकल पनि बरामद ।गरेको छ ।
जुवा खेलेको घरमा एक पटकको १० हजार रुपैयाँ दिइने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले घरबेटीलाई पनि पक्राउ गरेको छ । उनले यसअघि पनि एक पटक सोही घरमा जुवा खेलाइएको बयान दिएका छन् ।
थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।