व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी

१८ आश्विन २०७५, बिहीबार १८:२३

 

काठमाडौं– सरकारले काठमाडौंको गौशालास्थित दुई वटा मिठाई पसलमा शिलबन्दी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले बिहिबार मानव स्वास्थ्यमा गम्भिर असर पार्ने खालका बस्तु मिसावट भएको पाइएपछि गौशालास्थित व्यञ्जन मिठाई पसल र अन्नपूर्ण मिठाई पसलमा शिलबन्दी गरेको हो ।

झिंगा, साङलाजस्ता मानव स्वास्थ्यमा गम्भिर नोक्सान पु¥याउने खालका बस्तुहरु मिसावट भएको पाइएपछि दुवै मिठाई पसल शिलबन्दी गर्नु परेको विभागले जनाएको छ ।

विभागले यस अघि नयाँबानेश्वरस्थित संगम मिठाई पसलमा पनि अखाद्य बस्तु मिसावट भएको पाइएपछि शिलबन्दी गरेको थियो ।

विभागले अनुगमनको क्रममा दुवै मिठाई पसलबाट साङला, झिंगा लगायतका बस्तु मिसिएको करिव १ सय २० केजी मिठाईलगायतका बस्तुहरुको नष्ट पनि गरेको छ ।

दुवै पसललाई खाद्य ऐन अन्तरगत कार्वाही हुने पनि विभागले स्पष्ट पारेको छ । खाद्य ऐन अनुसार गुणस्तरहिन खाद्य बस्तु उत्पादन, विक्री वितरण गर्नेमाथि कम्तीमा ५० हजार जरिवाना र ५ वर्ष कैद सजाय दिने व्यवस्था गरिएको छ ।

सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्यमुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको ।

विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ ।