काठमाडौँ । आगामी १० वर्ष भित्रमा नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने पर्यटन मन्त्री रविन्द्र अधिकारीले बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घको २८ औँ वार्षिक साधरणसभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार विकासलाई तीब्रता दिएको र अबको १० वर्षको अवधिमा भौतिक पूर्वाधारमा उल्लेख्य विकास भई पर्यटकका लागि सहज वातावरण बन्ने उल्लेख गरे ।
उनले ‘टुरिज्म एण्ड दि डिजिटल ट्रान्सफर्मेशन’ को नाराका साथ विश्व पर्यटन वर्ष मनाउँदै गर्दा सञ्जालमार्फत उच्च गुणस्तरका सामग्री प्रस्तुत गर्नसमेत आग्रह गरे ।
मन्त्री अधिकारीले लामो समयदेखि बिग्रीएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको रिह्याबका लागि काम भइरहेको समेत जानकारी दिए । सन् २०२० भन्दा अगाडि नै रिह्याबको काम सकाएर उक्त विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने उनको भनाई थियो ।