
काठमाडौं– काँग्रेसले सातै प्रदेशमा पार्टीको नयाँ विधान तयार गर्न सुरु गरेको विधान मस्यौदामाथिको छलफलमा प्रतिनिधिहरुले चुनावका बेला गरिने टिकट वितरणमा हुने नातावाद कृपाबाद, पैसाका बलमा टिकटको किनवेच, पार्टीमा लामो समय योगदान दिएकाहरुको उपेक्षा, नेतृत्वको निर्णय क्षमता कमजोर भएको लगायतका विषयमा असन्तुष्टि जनाएका छन् ।
गत सोमबारबाट सुरु भएको विधान मस्यौदामाथिको छलफलका क्रममा पार्टी प्रतिनिधिहरुले नयाँ विधान उत्कृष्ट बनाउने किसिमको सुझाव दिनुभन्दा पनि यसअघि पार्टीमा भएका वेथितिका बारेमा चर्को आवाज उठाएका हुन् ।
यो छलफलमा सम्बन्धित प्रदेशका पार्टीबाट निर्वाचित सांसद, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भ्रातृसंस्थाका प्रमुख सहभागि भइरहेका छन् ।
त्यस्तै मस्यौदामा व्यवस्था गरिएको पार्टीको आठ तहका बारेमा पनि प्रतिनिधिहरुले ति संरचनाहरु कति व्यवहारिक र संस्थागत हुनसक्छन् भनेर प्रश्न गरेका छन् । मध्यपश्चिमको नेपालगञ्जमा भएको सुझाव संकलनका क्रममा धेरैजसो प्रतिनिधिहरुले पार्टीमा जनसंख्यालाई भन्दा भुगोललाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
सुझाव संकलनका लागि काठमाडौमा भएको कार्यक्रममा सहभागि प्रतिनिधिहरुले पार्टीको स्थानीय संरचना अझै बलियो बनाउनतर्फ पार्टीको ध्यान नपुगेको भन्दै त्यसतर्फ सोच्न सुझाव दिए । विधानको प्रारम्भिक मस्यौदामा सुझाव संकलनका क्रममा बोल्ने प्रतिनिधीहरुले पार्टी संरचनामा प्रदेशलाई भन्दा स्थानीय तह बलियो बनाउन जोड दिएका हुन् ।
‘मुलुक संघीय संरचनामा गएपनि काँग्रेसले स्थानीय संरचनालाई बलियो बनाउने प्रस्ताव नल्याएकोमा केही असन्तुष्टि र गुनासाहरु आएका छन्’ मस्यौदा समितिका एकजना सदस्यले भने, ‘ति गुनासालाई पनि विधानमा समेट्ने प्रयास हुन्छ ।’
विधानको मस्यौदामा सभापतिको मात्रै निर्वाचन, सम्पुर्ण पदाधिकारी वा बर्तमान संरचनाकै आधारमा निर्वाचन गर्ने भन्ने ३ विकल्प राखिएकाले तीनै विकल्पमा छलफल भइरहेको काँग्रेस नेता डा प्रकास शरण महतले बताए ।
विधान मस्यौदामा कग्रसेले बुधबार प्रदेश २, गण्डकी र ५ प्रदेशमा छलफल गर्देछ । प्रादेशिक तहमा आगामी १३ गतेसम्म सुझाव संकलन गर्ने कार्यक्रम सार्वजनिक गरेको काँग्रेसले यस्ता छलफलमा काँग्रेसका शीर्ष नेताले नै प्रतिनिधित्व गरेका छन् ।
विधानमा स्थानीय र प्रदेशस्तरको सुझाव समेत समेटेर केन्द्रीय समितिमा पेश गरिने र केन्द्रीय समितिपछि मंसिरमा बस्ने महासमिति बैठकले अनुमोदन गरेपछि विधान कार्यान्वयनमा आउने काँग्रेसले जनाएको छ ।