बुटवल– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा संघीयता आए पनि सरकारले केन्द्रिकृत शासन चलाएको आरोप लगाएका छन् । सरकराले प्रदेश र स्थानीय तहलाई प्रशस्त बजेट नदिँदा मुलुकमा संघीयताको आभाष हुन नसकेको बताए ।
आइतबार बिहान बुटवलमा आयोजना गरिएको एक साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने, ‘कम्युनिष्टहरू केन्द्रिकृत हुन्छन् भन्थे हो रहेछ । केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने बजेट आफैं राख्यो । संघीयताको मर्म के हो बुझन सकेन ।’ कोइरालाले थपे, ‘दुई तिहाईको दम्भका कारण सरकार आफै अलमलिएको छ । मुलुकलाई सही निकास दिन कांग्रेस ठूलो जिम्मेवारीका साथ संशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी अगाडि बढ्छ ।’ दुई तिहाईको सरकारसँग मुलुक बनाउने कुनै नयाँ योजना भिजन नै नभएको बताए ।
उनले कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले पार्टी सही दिशामा अगाडि बढन नसकेको बताए । पार्टीभित्रको द्धन्द्ध समाधान गरी अब हामी अगाडि बढ्नुपर्छ । ‘कांग्रेसले मुलुकका लागि के गरेन । एउटामात्र विश्वविद्यालय रहेको मुलुकमा १२ वटा पुगे । ७ हजार किलोमिटर मात्र सडक रहेको मुलुकमा ८४ हजार पुग्यो । तर कांग्रेसले मुलुक निर्माणका लागि गरेको काम आफ्नै द्धन्द्धका कारण गरेजस्तो देखिएन । अब कांग्रेसभित्रको आन्तरिक द्वन्द्व समाधान गरी अगाडि बढनुको विकल्प छैन ।’ कोइरालाले भने ।
स्थानीय तहले जथाभावी बढाएको करले जनता ठूलो मारमा परेको कोइरालाले बताए । उनले भने, ‘सरकारले जनतालाई राहत होइन । ऋण थप्यो । म जहाँ पुगेको छु । त्यहाँ जनताले गुनासो गर्छन, सरकराले ढाड नै सेक्ने गरी कर बढायो । हामीले एमाले र माओवादीले मत दिएर गल्ती गरेछौ भने ।’ उनले कांग्रेसले जितेतका स्थानीय तहमा कर नबढाउन आफूले निर्देशन दिएको समेत बताए ।