फिफा वरीयतामा नेपालले एक स्थान सुरु गर्दै १६० औं स्थानमा

४ आश्विन २०७५, बिहीबार १८:०६

फाईल फोटो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। बिहीबार सार्वाजनिक गरिएको वरीयतामा नेपाल १६०औँ स्थानमा रहन सफल भएको छ। गत महिना नेपाल १६१औँ स्थानमा रहेको थियो। फिफाले निकालेको नयाँ वरीयतामा नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन्। एक स्थान तल झरेको भारत ९७औँ स्थानमा रहेको छ।

यस्तै, एक स्थान नै झरेको माल्दिभ्सले १५१औँ स्थानमा आफूलाई उभ्याएको छ। नेपालभन्दा पछि भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। भूटान १८८औँ, बंगलादेश १९३औँ स्थानमा रहँदा श्रीलंका र पाकिस्तान समान १९९औँ स्थानमा रहेका छन्। विश्व वरीयतामा शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्त रूपमा रहँदा तेस्रोमा ब्राजिल, चौथोमा क्रोएसिया र पाँचौँ स्थानमा उरुग्वे रहेका छन्। यस्तै, इंग्ल्यान्ड छैटौँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा छन्। अर्जेन्टिना ११औँ स्थानमा यथावत रहेको छ।