निर्माण ब्यवसायीहरुले गुणस्तरीय काममा जोड दिनु पर्छः प्रधानमन्त्री ओली

४ आश्विन २०७५, बिहीबार १५:०३

 

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको प्रज्ञा भवनमा सुरु भएको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै अवाञ्छित लाभ लिन वा काम गर्नुपर्ने नभएकाले समयमा गुणस्तरीय कानूनसम्मत काम गर्न
निर्माण ब्यवसायीहरुलाई आग्रह गरेका हुन् ।

व्यवसायीले समयमा काम सम्पन्न गर्नु पर्ने र झारा टार्ने काम गर्न नहुने ओलीले बताए । काम गरेर देखाउन पनि ओलीले ब्यवसायीहरु लाई सुझाव दिए । कु्नै कुनै निर्माण ब्यवसायीहरु झारा टार्ने प्रवृतिका छन । ति ब्यवसायीहरु आफूमा सच्चिनु पर्छ । समयमा काम पुरा गर्न नसक्ने औचित्यपूर्ण सम्झौता अवधि बढाउन सकिने तर क्षमताभन्दा बढी काम ओगटेर काम नगर्ने कम्पनीका लागि पटक–पटक अवधि थप्न नसकिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

व्यवसायीको हितमा मात्र नभई समग्र देश र जनताको काम गर्न आग्रह गर्दै उनले जानीजानी कम गुणस्तर वा कम मात्राको सामग्री राखेर निर्माण गरी अनुचित लाभ लिन खोजेमा त्यस्ता ब्यवसायीहरुलाई कारवाही हुने दृढता व्यक्त गरे । उनले आर्थिक अवस्थाअनुसार कम खर्चमा बढी उत्पादन र प्रतिफल हुने गरी काम गर्नुपर्ने भएकाले निर्माण व्यवसायीलाई समयमा गुणस्तरीय काम गरेर आफ्नो छवि राम्रो राख्न पनि आग्रह गरे । काम नगर्ने ठूला कुरा गरेर बस्ने ब्यवसायीहरुलाई कुनै न्याय दिन नसकिने ओलीले स्पस्ट पारे । बिकास र समृद्धिको आधार निर्माण क्षेत्र भएको हुनाले निर्माण ब्यवसायीहरुले ईमान्दारी साथ काम गर्नु पर्नेमा ओलीले जोड दिए । उनले कमीकमजोरी रहेका कानून परिमार्जन गर्न सरकार तयार रहेको बताए ।

संविधान जारीपछि अधिकार प्राप्तिको आन्दोलनको चरणबाट आर्थिक विकास, उन्नति र समृद्धिको चरणतर्फ प्रवेश गरेको अवस्थामा भएकोले सबै क्षेत्रबाट योजनाबद्ध तरिकाले काम अगाडि बढाउनुपर्ने प्रधानन्त्री ओलीले आग्रह गरे ।

‘हामीले स्थापना गरेको लोकतान्त्रिक गणतन्त्रलाई सुव्यवस्थाका रुपमा परिणत गर्न तथा लोकतन्त्र उत्तम व्यवस्था हो भन्ने जनताले अनुभूत गर्ने गरी सुशासनयुत्त, भ्रष्टाचारमुक्त, शान्ति सुरक्षायुक्त ब्यवस्था बनाउन आवश्यक रहेको ओलीले बताए । उनले भने, ‘वर्तमान सरकार यो प्रणाली उत्तम छ भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्न प्रतिबद्ध छ । हामी त्यहि बाटोमा लागी परेका छौ । सबैको सहयोग जरुरी छ । ओलीले भने ।

महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले भौतिक पूर्वाधारलाई अलग राखेर समृद्धि हुन नसक्ने भन्दै समयमा गुणस्तरीय निर्माण नहुनुमा व्यवसायीलाई मात्र दोषी ठहर्याउन नहुने बताए । उनले सार्वजनिक खरीद ऐनमा र मुलुकी अपराध संहिता, २०७४ मा रहेका कतिपय दफालाई व्यावहारिक बनाइनुपर्ने र संशोधन गर्नुपर्ने माग गरे ।