काठमाडौं । एकपछि अर्को प्रकरणमा प्रहरी संगठन विवादित बनिरहँदा काठमाडौंमा एक मानसिक रोगीलाई प्रहरीले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।
गोंगबुस्थित शिव मन्दिर चोकमा सोमबार एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको हो । त्यहाँको एक फेन्सी पसल अगाडि बसेका उनलाई बिहान साढे ६ बजे स्थानीयले हटाउन खाजेका थिए । तर, त्यहाँ पसले र मानसिक रोगीबीच विवाद हुन्छ ।
त्यसक्रममा स्थानीयले उनलाई पिटेर खेदाउन खोज्छन् । त्यसलाई नियालिरहेका एक प्रहरी भने झगडा छुट्टाउनु त कहाँ हो कहाँ उल्टै ती व्यक्तिलाई पिट्न थाल्छन् । ‘मर्निङ वाल्क’ मा रहेका लेखक दिलनिशानी मगरले यो भिडियो खिचेका हुन् ।
उनले राति पसलको पेटीमा सुतेको, फोहर गरिदिएको र जा भन्दा अपशब्द बोलेका कारण उनीमाथि कुटपिट गरिएको बताए । ‘त्यहाँ कार्टुनहरु हुने भएकाले ती व्यक्ति राति सुतेका रहेछन्’, मगरले अनलाइनखबरसँग भने, ‘बिहान पसलका मालिकहरु आएर उठाउन खोज्दा विवाद भएको थियो ।’
‘जा बहुला भनेर उनलाई धकेल्दा रिस उठ्दो रैछ । त्यसपछि विवाद सिर्जना भएको थियो’, उनले थपे, ‘प्रहरीले सम्झाउनु पर्नेमा उल्टै पसलेसँग मिलेर लाठी र लात्ती उमाथि बर्सायो ।’
जे भयो गलत भयो, छानबिन हुन्छः प्रहरी
यस विषयमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त लामासँग जिज्ञासा राख्दा उनले अनविज्ञता प्रकट गरे ।
‘तपाईंले भनेपछि थाहा पाएँ । के रहेछ बुझ्छु’, उनले भने । उता, महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले चाहिँ जे भयो गलत भएको बताउँदै केही व्यक्तिका कारण संगठनकै आलोचना हुने गरेको बताए ।
‘केहीवेर अघि हाम्रो ड्यूटी अफिसरलाई पनि यो बारेमा प्रश्न गर्दै फोन आएपछि घटनाबारे थाहा पाएको हुँ’, उनले भने, ‘यदी तपाईंले भने जस्तै भएको हो भने त्यो गलत हो ।’
त्यसरी झगडा भइरहेको भए प्रहरीले छुट्टाउनु पर्ने बताउँदै उनले घटनाबारे जानकारी लिने काम भइरहेको बताए ।