निर्माण व्यवसायी महासंघको साधारणसभा असोज ४ देखि ६ सम्म

३ आश्विन २०७५, बुधबार १७:०२

 

नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा आगामी विहीबारदेखि काठमाडौंमा सुरु हुने भएको छ
महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० औं साधारणसभा आगामी विहीबारदेखि काठमाडौंमा सूरु हुने औपचारिक जानकारी गराएको हो। ३ दिनसम्म चल्ने साधारण सभाले महासंघको तीन वर्षका लागि भावी नेतृत्व समेत चयन गर्नेछ।

 

सर्वसम्मतिमै नेतृत्व चयन गर्नेगरी साधारणसभाको तयारीको कामलाई अघि बढाइएको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए। साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्न अध्यक्ष श्रेष्ठकै नेतृत्वमा ३ सय ३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

विहीबार प्रधानमन्त्री केपी ओलीले साधारण सभाको उद्घाटन गर्नेछन्। शुक्रबार राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने र शनिबार नेतृत्व चयन गरी साधारण सभालाई सम्पन्न गर्ने कार्यतालिका पनि तय गरिएको महासंघका महासचिव रामशरण देउजाले जानकारी दिए।

नेतृत्वमा प्रतिष्पर्धाको सम्भावना

सर्वसम्मतिमै नेतृत्व चयन गर्ने बताएतापनि महासंघको अध्यक्षका लागि हालसम्म ४ जनाले उम्मेद्वाारी दिने घोषणा गरेका छन्।

महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उमेद्वारी घोषणा गरेका हुन्। त्यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए।

संघका वर्तमान महासचिव रामशरण देउजाले पनि अध्यक्षको लागि आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। नेतृत्वका लागि अहिलेका अध्यक्ष विष्णुभाइ श्रेष्ठले अध्यक्ष शरद कुमार गौचनको हत्या हुँदा वरिष्ठ उपाध्यक्षबाट निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी लिएकाले २० औं साधारण सभामा निर्वाचनमा उठ्ने जानकारी दिए।

एउटा पदमा धेरैजना उम्मेदवार दिने घोषणा गरेको महासंघमा कसरी सर्वसम्मतीबाट निर्वाचन हुन्छ भन्ने प्रश्न सबैमा छ।