अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्नु पर्छः राष्ट्रपति

२९ भाद्र २०७५, शुक्रबार १४:१५

काठमाडौं– राष्ट्रपति विद्या भण्डारीले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएकी छन् ।

 

राष्ट्रपति भण्डारीले सो घटनामा संलग्न अपराधिलाई कानुनको दायरामा ल्याई दण्डित गर्न सम्बन्धित सबै पक्षलाई संवेदनशील हुन पनि गम्भिर ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय बालअधिकार दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले न्यायको खोजीमा छटपटाउँदै हिँड्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दैै दोषीलाई खोजी गरी पीडित परिवारलाई न्याय दिन ढिलाई नगर्न पनि सम्वद्ध सबै पक्षलाई संवेदनशील हुन आग्रह गरिन् ।

उनले बालबालिकाको हक, हित संरक्षणमा सबै पक्षको सहयोग हुनु पर्ने कुरामा जोड दिइन । भण्डारीले बालमैंत्री समाज निर्माणमा सबैको सहयोग आबश्यक भएको बताइन ।

राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भईरहेका यौनजन्य हिंसा, दूव्र्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गरिन् ।
उनले बाल अधिकार हननका घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गरिन् ।