काठमाडौँ । राष्ट्रिय जनता पार्टी राजपाले प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेको छ । सो पार्टीले घटनाबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्न पनि माग गरेको छ ।
संसदको शुक्रबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले सुरक्षा दिनुपर्ने प्रहरीकै हिरासतमा रहेको यादवको हत्या भएको भन्दै ‘प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ? भनि प्रश्न गरे ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको कर्णले दाबी गरे ।
जवाफमा गृहमन्त्री रामबहादुर थापाले राममनोहर यादव सीके राउत समूहका कार्यकर्ता भएको भन्दै राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले उनलाई पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको बताए ।
तर, गृहमन्त्रीको जवाफमा चित्त नबुझेको भन्दै राजपा सांसद लक्ष्मणलाल कर्णले यादवको मृत्युबारे निश्पक्ष छानविनका लागि संसदीय समिति गठन गर्ने प्रतिवद्धता नभएसम्म सदन अघि बढ्न नदिने चेतावनी दिएलगत्तै उठेर विरोध जनाएका थिए । ‘यादवको रोगबाट मृत्यु भयो भनेर गृहमन्त्रीले भन्नुभयो , त्यो रोग के थियो पत्ता लगाउनुपर्दैन सिके राउतको मान्छे भन्दैमा यसरी मान्छे मार्न पाइन्छ ? कालो झण्डा देखाउन नपाइने नियम कहाँ छ ? कर्णको प्रश्न थियो ।
जवाफमा सभामुखले सल्लाह गरेर समिति गठनको पहल गर्ने बताएपछिमात्रै राजपाका सांसद आसन ग्रहण गरेका थिए ।